Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने

Friday, September 4, 2020 National Power

काठमाडौं – शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ ।

बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

बिहीबारको असामान्य परिपस्थितिलाई मध्यनजर गर्दै शुक्रबार ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए ।

उनका अनुसार २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्‍याउने सहमति भएको छ ।

मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्‍याएको चौथो दिन जाउलाखेलमा भोटो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा गर्ने परम्परा छ । तर यो वर्ष छोटो प्रक्रियाबाट रथलाई बुङ्गमती पुर्‍याउने भनिएसँगै बीचका सबै प्रक्रियाहरू स्थगित भएको थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।

‘भोटो नदेखाउने भन्ने कुनै निर्णय भएको होइन । तर रथयात्राको बीचका प्रक्रिया नगरी सिधै बुङ्मती लैजाने भनिएपछि भोटो देखाउने जात्रा पनि स्वतः स्थगित भइहाल्यो’ उनले अनलाइनखबरसँग भने । परम्पराअनुसार पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मंगलबजार पुर्‍याएर दरबार पूजा, तेस्रो दिन मंगलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबली दिने गरिन्छ । त्यसपछि फेरि अर्को दिन शुभ मुहूर्त हेरेर रथलाई जाउलाखेल पुर्‍याउने गरिन्छ ।

जाउलाखेलमा पु¥याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेपनि यो वर्ष बीचका सबै कार्यक्रमहरू स्थगित गरिएको थपलियाले बताए ।