Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याइयो, निषेधाज्ञा तोडेर आए सयौं

Thursday, September 3, 2020 National Power

काठमाडौं- स्थानीय युवा र गुठीयारहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकको बीच सडकमा ल्याएका छन्। लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। रथ तान्ने क्रम अहिले पनि जारी छ। प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई उनीहरूले रोक्न सकेनन्। बीच सडकमा ल्याउँदा रथ केही लच्केको देखिन्छ।

कोरोना महामारीबीच उपस्थित यति ठूलो भीडमध्ये कतिपयले मास्क लगाएका छन् भने मास्क नलगाउनेहरू पनि थुप्रै छन्। कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो।

‘मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ। तर गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन्,’ रथ निर्माणका नाइके दिलकुमार बहारीले भने। असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ।

गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो। पछिल्लोपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाको आदेशका कारण रोकिएको थियो।

असोज २ देखि मलमास लाग्छ। त्यो समयमा रथ तान्न मिल्दैन। दसैंसम्म च्छिन्द्रनाथलाई बुंगमती पुर्याउनपर्ने भएकाले हामीले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्छ, बाराहीले भने। केही व्यक्तिले भने कोरोनाको समयमा सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय दिएका छन्।