Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता

Thursday, September 3, 2020 National Power

काठमाडौं – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।

स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो पनि खसेर गाउँमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् । लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् ।

यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।