Wednesday 12th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

कांग्रेस नेतृत्व कोईराला परिवारमा फर्किएला त ?

Monday, August 31, 2020 National Power

काठमाडौं- नेपाली काँग्रेसभित्र भावी सभापतिको दौडले गति लिन थालेको छ । सभापतिको आकांक्षी आधा दर्जनभन्दा बढी देखिइरहँदा दौडले गति लिएको हो ।यसपटक पनि काँग्रेस नेतृत्व कोइराला परिवार बाहेकमा रहने हो वा होइन भन्ने चासो बढेको छ । काँग्रेसको स्थापना देखि अधिकांश समय नेतृत्वमा कोइराला परिवार नै रहेका छन् । २०४६ सालको जनआन्दोलनपछि काँग्रेस नेतृत्वमा कोइराला परिवारको एकछत्र राज चल्यो । गिरिजाप्रसाद कोइराला काँग्रेसको राजनीतिमा मात्र नभई देशकै राजनीतिमा दुई दशकभन्दा बढी हावी भए । उनीपछि सुशील कोइरालाले काँग्रेसको नेतृत्व सम्हाले ।

सुशील कोइरालाको निधनपछि तीन दशकपछि बल्ल काँग्रेस नेतृत्व कोइराला परिवारबाहेकमा पुग्ने सुनिश्चित भएको थियो । सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिष्पर्धा भएकोमा देउवाले बाजी मारे । देउवा सभापति जित्दा महामन्त्रीमा डा। सशांक कोइरालाले चुनाव जिते । यो कोइरालाको राजीतिक उदयको महत्वपूर्ण क्षण बन्यो । कोइराला परिवारबाट गत महाधिवेशनमा महामन्त्रीमा सशांकले जित्दा केन्द्रीय सदस्यमा डा। शेखर कोइराला र सुजाता कोइरालाले जीत हासिल गरेका थिए ।

तीनैजना कोइरालाले त्यतिबेला रामचन्द्र पौडेललाई साथ दिएका थिए । यसपटक भने तीनैजनाको आफ्नै चाहना र दाबी छ । विशेषगरी डा। सशांक कोइराला र डा। शेखर कोइराला सभापतिका दाबेदार निस्किएका छन् । सशांकले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा जनमतसंग्रहमा जान सकिने एजेन्डा अघि सार्दै आएका छन् । शेखर पनि धर्मनीरपेक्षता हटाउने एजेन्डामा जोड दिदै आएका छन् । यसरी कोइराला परिवारका सदस्यहरु काँग्रेसको पुरानो एजेन्डालाई ब्युँताउन खोजिरहेका छन् ।

बलियो एजेन्डासहित प्रस्तुत भएका कोइराला परिवारका दुई सदस्यले देउवालाई सभापतिमा कडा चुनौती दिने संकेत गरेका छन् । दुवैजनाले आफूले मात्र देउवालाई पराजित गर्न सक्ने दाबी गरिरहेका छन् । तर, कोइराला परिवारको सदस्य मिलेर मात्र यसपटक सभापतिमा बाजी मार्ने सम्भावना देखिदैन । रामचन्द्र पौडेलको मात्र नभई प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको समर्थन आवश्यक पर्न सक्छ । यतिले मात्र देउवालाई पराजित गर्ने शक्ति नपुग्न सक्छ । विमलेन्द्र निधिको पनि साथ हुनुपर्छ । तर, यी सबै आफै सभापतिका दाबेदार हुन् ।

सभापतिका यति धेरै दाबेदार लचिलो भई साझा उम्मेदवार बन्ने सम्भावना कमजोर छ । तर, असम्भव भने छैन । पछिल्लो समय विरासतको राजनीतिक गर्दै आएकाहरु एकजुट हुन वार्तामा जुटेका छन् । यसले नयाँ सम्भावनाको संकेत गरेको छ । तर, कोइराला परिवारलाई पुनः सभापतिको उम्मेदवार बनाउने पक्षमा सहमति जुट्ने सम्भावना बन्न कठिन छ । राजनीतिक माहोलले भने फरक अवस्था सृजना गर्न सक्छ ।

काँग्रेसभित्र कोइराला परिवार शक्तिशाली भने बन्दै गएको छ । उनीहरु शक्ति सञ्चयमा लागेका छन् । परिस्थिति मिलेमा देउवाको साथमा गएकाहरु फेरि फर्कने वातावरण बन्न सक्छ । माहोल तात्तिएमा कोइराला परिवारका कुनै एक सदस्य सभापतिको उम्मेदवार बनेर समर्थनको ओइरो लाग्न सक्छ । त्यसका लागि काँग्रेसभित्र दोस्रो पुस्ताका हेभिवेटहरुको सहयोग अनिवार्य रहन्छ । त्यसका लागि एउटा समुह खटिइरहेको छ ।