Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लिदी पहिरो : थप तीन शव फेला, मृतक संख्या २२ पुग्यो

Monday, August 17, 2020 National Power

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।

बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र, नेपाल प्रहरी र सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ताको खोजी गरिरहेको प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । गत साता खसेको पहिरोले उक्त गाउँका एक सय घरधुरीमध्ये ३७ वटामा आंशिक र १७ वटामा पूर्ण क्षति भएको छ ।

जुगल गाउँपालिकाले पहिरोमा परी मृत्यु भएका र बेपत्ताका परिवारलाई तत्कालीन राहतस्वरूप जनही १ लाख २५ हजारको दरले उपलब्ध गराएको छ । त्यसै गरी सिन्धुपाल्चोक घेदङका अध्यक्ष रेशम स्याङ्बोले व्यक्तिगत पहलमा ३८ थान कोरियन ब्ल्यांकेट र पहिरोपीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट जुटेको एक लाख रुपैयाँ गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।