Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पशुपति क्षेत्र विकास कोष खारेज गर्न स्थानीय जनप्रतिनिधिको माग

Friday, July 31, 2020 National Power

काठमाडौं –  पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा बोल्ने जनप्रतिनिधिले स्थापनाको तीन दशकसम्म कोषले स्थानीयलाई दुःख दिनेभन्दा केही काम नगरेको भन्दै कोषको खारेजीको माग गरे ।

काठमाडौं महानगरपालिका वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार डंगोलले आफूहरू कोष खारेज गर्न लागिपरेको बताए । संघर्ष समितिको कार्यक्रममा उनले भने ‘कोषले ल्याएको गुरुयोजना असफल बनाउन हामी काठमाडौं महानगरपालिकाका वडा नम्बर ७, ८ र ९ का वासिन्‍दा नै लागि पर्नेछौं । हामीले पशुपति क्षेत्र विकास कोषलाई समेत खारेज गर्न लागिपरेका छौं ।’

कोषले स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी नगराई गुरुयोजना ल्याएको र त्यसमा काठमाडौं महानगरपालिकाको वडा नं ८ नै नरहने कल्पना गरिएको भन्दै उनले विरोध जनाए । काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्ध डंगोलले नेपाल सरकारको ऐन अनुसार स्थापना भएको कोषले राम्रोसँग काम गर्न नसकेको बताए । उनले पशुपति, बौद्ध र स्वयम्भु क्षेत्रमा समेत सरकारले प्रत्यक्ष हस्तक्षेप हुने गरी कोष स्थापना गरिएकोले यो कोषले सधैं आफूहरूलाई दुःख दिने काम मात्रै गरेको आरोप लगाए ।

धर्मशालाको नाममा तारे होटल सञ्चालन गर्ने र बस्ती हटाएर अमूर्त सम्पदा नाश गर्ने काम कोषले गर्न लागेको भन्दै प्रस्तावित गुरुयोजना कुनै पनि हालतमा कार्यान्वयनमा आउन नसक्ने दाबी गरे । नयाँ गुरुयोजनाले सिफलदेखि धोबीखोलासम्मको बस्ती हटाउने गरी गुरुयोजना प्रस्ताव गरेपछि स्थानीय प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरू समेत विरोधमा उत्रिएका हुन् ।

वाग्मती प्रदेशका प्रदेश सभा सांसद् नरोत्तम वैद्यले यो गुरुयोजना कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताए । प्राचीन बस्ती मासेर यहाँको परम्परा नष्ट गराउने काममा पशुपति क्षेत्र विकास कोष नै लागेको भन्दै उनले यो ‘कथित गुरुयोजना’ कुनै पनि हालतमा कार्यान्वयनमा आउन नसक्ने बताए ।