काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनले डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गरेको छ ।
शनिबार जुम क्लाउड मिटिङ (Zoom Cloud Meeting) महाधिवेशनबाट सन् २०२०-२१ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन कर्म गुरुङ्ग विजय भएका छन् ।
विश्वभर फैलिएकाे काेराेना भाइरसका कारण यस वर्ष इलेक्ट्रोनिक मतदान गरिएको ग्लाेबल सर्भिस टिम (जिएसटी) डिस्ट्रिक काे-अर्डिनेटर तथा लायन्स क्लब काठमाडौं राइजिङ्ग सनका पूर्वअध्यक्ष रमेश लामाले जानकारी दिए ।
इलेक्ट्रोनिक मतदानमा २७१ क्लबबाट कूल ५२९ भोट मध्ये ५०३ भाेट खसेको थियो । सो मध्येबाट डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठलाई ४८७ ‘एस’ भोट प्राप्त भएको छ भने १६ नो’ भोट खसेकाे छ । त्यसैगरि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्कीलाई ४७९ ‘एस’ भोट, २४ नो भोट खसेकाे छ ।
त्यसैगरि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर दुई उम्मेद्ववार मध्ये लायन कर्म गुरूङले ४२२ (८३.८९ प्रतिशत) मत प्राप्त गरेर विजय भएका छन् । सोही पदका अर्का उम्मेद्ववार दिपेन्द्र शाक्यले ८१ भाेट (१६.१० प्रतिशत) प्राप्त गरे ।
भरखरै निर्वाचित भएका डिष्ट्रिक्ट गभर्नर लायन टंक बहादुर श्रेष्ठले गाउँ सहरसँग कुरा गर्दै भने- ‘पहिलाे कुरा त यस काेराेना भाइरसकाे त्रासकाे विषम परिस्थितिमा पनि भर्चुअल महाधिवेशन सफल गराउनु भएकाेमा म लायन डिस्ट्रिक गभर्नर राजन खत्री र लायन्स मित्रहरूलाई विशेष धन्यबाद दिन चाहन्छु । आगामी दिनहरूमा अग्रजहरू तथा लायन्स लिडरहरूकाे सल्लाह र सुझाव लिएर कार्ययाेजना बनाइ सेवामा लाग्नेछु । आज प्राप्त भएकाे मतले मलाई थप जिम्मेवारी काँधमा आएकाे छ । भाेलीका दिनमा लायन्स मित्रहरूले दिएकाे जिम्मेवारी निष्पक्ष ढंगले अगाडि बढ्नेछु । साथै याे काेराेनाकाे महामारीमा यसअघि पनि सेवा प्रदान गरेकै हाे र आगामी दिनमा पनि हामी संस्थाागत व्यक्तिगत रूपमा जसलाई आवश्यकता हाे उनीहरूकाे सेवामा समर्पित हुनेछु । विशेष गरि हामीले शुरू गरेकाे लायन्स फुड बैंक, १० युनिट हजारभन्दा बढि रगत संकलन र कीर्तिपुरमा सञ्चालन गरेकाे स्किन बैंकमा सहयाेग निरन्तरता दिनेछु । सबै लायन लिडरहरूकाे सामुहिक नेतृत्वमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
त्यसैगरि, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा विजयी लायन कर्म गुरुङ्गले सम्पूर्ण लायन्स साथीहरूलाई आठौं महाधिवेशन सफल बनाउन सहयाेग गरि विजय गराउने लायन लिडरप्रति धन्यबाद व्यक्त गर्दै गाउँ सहरसँग कुरा गर्दै भने- ‘ म सामाजिक सेवामा तल्लीन व्यक्ति भएकाले लायनवादमा लागेकाे हुँ । त्यसैले हामीले आफूभन्दा कम भाग्यशाली व्यक्तिहरूलाई सेवा गर्ने हाे । मलाई सेकेण्ड भाइस डिस्ट्रीक गभर्नर पदमा निर्वाचित गराएर थप भारी बाेकाउनु भएकाे छ । म अघि लागेर भारी बाेक्न तयार छु । सामुहिक नेतृत्वमा विश्वास गर्ने भएकाले सम्पूर्ण लायन्स मित्रहरूकाे सहयाेगमा अघिल्लाे वर्ष पनि हाम्राे डिष्ट्रिक्ट विश्वकै उत्कृष्टमा पर्न सफल भएकाे थियाे भने यसपटक पनि हामीले काेराेनाकाे कहरमा झन बढि जिम्मेवारीका साथ काम गर्नुपर्ने बेला आएकाे छ । साेही अनुरूप म र हामी सबै एकै भएर लाग्नेछाै भन्ने विश्वास दिलाउन चाहन्छु ।’
वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) ले निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिँदै आगामी दिनमा निर्वाचित सबै लायन लिडरहरूसँग सहकार्य गर्दै सिकेका अनुभव साटासाट गर्ने बताए ।
त्यसैगरि यो वर्ष डिस्ट्रीक ३२५ ए वान ३३७९ वटा सर्भिस कार्यक्रमबाट ८ लाख भन्दा बढी सुबिधा बन्चित मानिसलाई सेवा पुर्याएर ऐतिहासिक रेकर्ड कायम गरेको कुरा पनि ग्लोबल सर्भिस टिम (जिएसटी) डिस्ट्रिक को-अर्डिनेटर लायन रमेश लामाले डिस्ट्रीक गभर्नर लायन इन्द्र खत्री (राजन) लाई बधाई सहित जानकारी गराएका छन् ।
अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए ।
विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिक्टमा ३४ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।
कार्यक्रममा लायन्स क्लबमा रहेका काम गर्नुहुने विभिन्न अग्रज व्यक्तित्वहरुले आ-आफ्ना धारणा राखेका थिए ।
त्यसैगरि लियोतर्फ लियाे क्लब अफ मकालुका समृन गौतम लियो डिस्ट्रिक्त प्रेसिडेन्ट निर्वाचित भएका छन् भने भाइस प्रेसिडेन्टमा लियाे क्लब विराटनगर माेरङका मुकेश पाैडेल निर्वाचित भएका छन् ।