Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

भद्रगोल ब्यस्थापनका ‘क्वारेन्टाइन’ र स्वदेश फर्कनेको लर्कोले भयावह स्थिति निम्ताउँदै

Saturday, May 23, 2020 National Power

               लेखक – डा. डिआर उपाध्याय

बिश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण नियन्त्रण गर्ने प्रभावकारी उपायका रुपमा शङ्कास्पद ब्यक्तिहरुलाई छुट्टयाएर राख्न ‘क्वारेन्टाइन’ लाई अगाडि सारियो । नेपालमा क्वारेन्टाइन व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टाइन कोठामा ५ फिटको फरकमा बेड तयारगरि दुईजनासम्म राख्ने ब्यवस्था छ । तर, देशैभरि अब्यवस्थित क्वारेन्टाइनमा बसाईले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको देख्दा जताततै निराश र संन्त्रास फैलिएको छ ।

करिव दुई महिना लामो ‘लकडाउन’को अवधिमा भारतलगायत विदेशबाट एकलाख पचासहजार भन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन् भने यसको दोब्बर सङ्ख्यामा फर्किनेहरु बाँकी रहेको अनुमान छ । नेपाल भारत सीमामै हजारौं नेपाली प्रवेश गर्ने तर्खरमा छन् । तिमध्ये भारतका विभिन्न स्थानमा क्वारेन्टाइनमा यातनामय दिन बिताएका केही ब्यक्ति पनि रहेका छन् तर एक-दुईवटा अपवाद बाहेक नेपालका अधिकांश क्वारेन्टाइनको बसाई पीडादायी नै रहेको अनुभव धेरैले सुनाउछन् । आरम्भमा खुला आकाश मुनीसमेत क्वारेन्टाइन सञ्चालन गरिएर अहिले अधिकांश क्वारेन्टाइन विद्यालय भवनहरुमा सञ्चालित हुँदा जस्ताको छानामुनी रात कटाउन पाईने ब्यवस्थासम्म भएको छ । तराईको विभिन्न स्थान जो कोरोना भाइरस सङ्क्रमणको ‘हटस्पट’का रुपमा देखिएका छन् त्यहाँ क्वारेन्टाइन झनै अस्त-व्यस्तहुँदा डरलाग्दो रुपमा सङ्क्रमण फैलिरहेको छ । बाँकेको नरैनापुर गाउपालिका-५, भोजभगवानपुर स्थित दीपेन्द्र प्रा.वि.को क्वारेन्टाइनमा चार दिनमै पन्ध्रजनामा कोरोना सङ्क्रमण देखिनुले क्वारेन्टाइनको विकृत तस्विर प्रस्तुत गर्दछ ।

अधिकांश क्वारेन्टाइनहरुमा शौचालय छैनन्, स्वास्थ्यकर्मी र खाना खाजाको समुचित व्यवस्था छैन्, न स्वास्थ्य परिक्षण, न त्यहाँ बस्नेको सोधिखोजी । दुईजना राख्नुपर्ने कोठामा २० जनासम्मलाई क्वारेन्टाइन गरिएको सार्वजनिक भएको छ । यसरी अधिकांश क्वारेन्टाइन कोरोना भाइरस नियन्त्रण स्थल नभई विस्तार स्थलमा परिणत भएको देखेरै होला कतिपय क्वारेन्टाइनबाट ब्यक्तिहरु भागेर गएका छन् ।

लकडाउनमाथी लकडाउन थपिने गरिएको छ । यदि लकडाउनमा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेहरु भोक भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । सञ्चारमाध्यममा तथा सामाजिक सञ्जालमा त्यस्ता पीडितहरुले रुदै सुनाउनेहरुका ब्यथाले जो सुकैलाई आहत बनाउछ । सरकारी संयन्त्रले लकडाउनको अवधिलाई कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्नको साथै यस सङ्कटकैबीच देशको अर्थतन्त्र जोगाउँदै सर्वसाधारणको दैनिक जीवनलाई कसरी सहज बनाउदै लैजाने भन्ने गुरुयोजना बनाउनमा उपयोग गरिरहेकाछन् भन्ने अनुभुति गराउन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । क्वारेन्टाइनको अस्तव्यस्तताले नै यो कटु यर्थाथ छर्लङ भएको छ । लकडाउनको समयमा आफ्नो देश फर्कनेहरुको लर्को अस्वभाविक होइन । यसको पूर्व अनुमान गरेर त्यस्ता ब्यक्तिहरुको लागि व्यवस्थित क्वारेन्टाइन परिक्षण आदी गरेर मात्रै गाउँ-घरजाने व्यवस्था मिलाईएको भए अहिलेको जस्तो भयावह स्थिति आउने थिएन ।

अहिले पनि ठूलो सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किनेक्रम जारीछ । यद्ययपी प्रधानमन्त्री के.पी.शर्मा ओलीले क्वारेन्टाइन व्यवस्थित गर्न निर्देशन दिई सकेका छन् । फेरि पनि निर्देशन एकातिर तथा सम्बन्धित निकायको ब्यवहार अर्कोतिर भयो भने विश्व स्वास्थ्य सङ्गठले दिएको चेतावनी भन्दा पनि ठूलो क्षति हामीले ब्यहोर्नु पर्ने हुनसक्छ । अनेक स्थानिय तहले प्रशासनसँग समन्वय गरि आ-आफ्नो क्षेत्रमा रहेका होटल, गेष्टहाउस, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाब्य स्थललाई क्वारेन्टाइन बनाउन पहल गर्नुपर्ने भएको छ । त्यहाँ बस्ने ब्यक्तिहरु स्वयम्ले खर्च भुक्तानी गर्नुपर्ने कुरा पनि छ । यो एक दृष्टिले जायज पनि हो तर हामिले मानवता गुमाउनु हुँदैन । बेहाल अवस्थामा बेखर्ची भई क्वारेन्टाइनमा बस्नुपर्ने भएकाहरुलाई सरकारको तर्फबाट खर्च भुक्तानी गरेर भए पनि क्वारेन्टाइन मै राख्नुपर्छ ।

अन्तर्राष्ट्रिय समुदायबाट कोरोना भाइरस नियन्त्रण हेतु प्राप्त अर्बौ रुपियाँको सहयोग तथा राजस्वबाट यस्ता असहायको जीवन उद्धारगर्न पनि कन्जुस्याई हुनुहुँदैन । क्वारेन्टाइनबाट ब्यक्तिहरु भाग्नुपर्ने दुरावस्थाको अन्त्यगरि त्यहाँ बसेमा आफ्नो जीवन जोगिने अनुभुति गराउनसके मात्र आगामी दिनमा विदेशबाट ओइरिने नेपाली तथा गाउँ-घरमा रहेकाहरुलाई व्यवस्थितगरि कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणसँग लड्दै अघि बढ्न सहज हुनेछ ।

लेखक : डा. डिआर उपाध्याय