Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

देशको पाँचौ लकडाउन : २५ वैशाखसम्म लकडाउन गर्ने सरकारको निर्णय

Sunday, April 26, 2020 National Power

काठमाडौं – सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेकाे छ ।
नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।

यस अघि सरकारले गत चैत ११ देखि १८ सम्म पहिलो लकडाउन घोषणा गरिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो । चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो ।

कोरोनाको जोखिम बढी भएको ठाउँमा लकडाउन गर्ने र कम जोखिम भएको ठाउँमा खुकुलो बनाउने गरी लकडाउनको उपाय खोजी गर्ने सरकारी अधिकारीहरुले बताएका थिए । यसवीचमा लकडाउन लामो हुँदै जाँदा यसको विकल्पसमेत खोज्नुपर्ने माग भइरहेका बेला सरकारले थप १० दिन लकडाउन गर्ने निर्णय गरेको छ । वैशाख २५ सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषदको विस्तृत निर्णय बाहिर आइसकेको छैन ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ । आइतबारदेखि राजधानीकै सडकहरुमा स्थानीय सवारी साधन बाक्लै चल्न थालेको अवस्था छ ।

तर, काठमाडौंबाट बाहिर जाने र उपत्यकामा चल्ने सवारी साधनहरु खुकुलो भइरहँदा कोरोनाका संक्रमितहरुको संख्या बढ्ने क्रम रोकिएको छैन । कोरोनाको जोखिम झनै बढ्दो अवस्थामा छ ।