Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अन्तत: स्वास्थ्य सेवा विभागले गर्यो तीनवटा निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद सम्झौता

Friday, April 17, 2020 National Power

काठमाडौँ – अन्त्तत:  स्वास्थ्य सेवा विभागले तीनवटा संस्थासँग २९ करोड मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तत्काल चाहिने स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको हो ।
विभागले बिहीबार ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो मेडी कन्सर्न नामक निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागले चैत २५ गते टेण्डर आह्वान गर्दै तत्काल आवश्यक केही स्वास्थ्य उपकरणहरु खरिद गर्न लागेको थियो ।

विभागले ५ दिन अर्थात् चैत २० गतेसम्मको समय दिएर टेण्डर भर्न आह्वान गरेको थियो । आइतबार टेण्डरको समय सकिएको भए पनि विभागले बिहीबार मात्रै तीनवटा संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको हो ।

विभागले कोरोना संक्रमणका बिरामीको उपचारमा संलग्नका लागि आवश्यक पीपीई, पञ्जा, चस्मा, सुज कभर, फेस कभर लगायतका तत्काल आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न लागेको हो ।

यसअघि मन्त्रीपरिषद् बैठकले स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले त्यसअघि ओम्नी समूहसँग गरिएको खरिद सम्झौता विवादमा आई भङ्ग भएलगत्तै सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य उपकरण खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

बढीमा दुई साता अर्थात् वैशाख १८ गतेभित्र नै सम्पूर्ण स्वास्थ्य उपकरण उपलब्ध गराइसक्ने गरी विभागले सम्झौता गरेको छ । शुक्रबार मात्रै पनि विभिन्न स्वास्थ्य उपकरणहरु नेपाल आएको छ । तर उक्त स्वास्थ्य उपकरण नेपाल सरकारलाई दिने स्वास्थ्य उपकरण छ कि छैन भनेर जानकारी नआएको विभागले जनाएको छ ।