Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अष्ट्रेलियामा पढ्दै गरेका नेपाली विद्यार्थीमा कोरोना संक्रमण, ११ दिन अघि मात्रै नेपालबाट फर्केका थिए

Monday, March 9, 2020 National Power

काठमाडौं – फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।

अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए । अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए । उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ । उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ ।

तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा। मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् । ‘मैले यस्तो स्थितीमा तास्मानियाका सबै जनतालाई जिम्मेवार रहन आग्रह गर्दै आएको छु,’ उनले भने । अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए । स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा भएको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण पनि लिने प्रयास भइरहेको बताएका छन् ।