Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक विस्तारको क्रममा गोदावरीमा एक्स्काभेटर चालकमाथि आक्रमण

Wednesday, December 4, 2019 National Power

काठमाडौं –  सडक विस्तारको काम चल्दै गर्दा गोदावरीमा एक्स्काभेटर ड्राइभर कुटिएका छन् । गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा-समामान्तर जेभीका एक्स्काभेटर चालक सन्तोष कोइराला कुटिएका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ । कुटपिटबाट घाइते एक्स्काभेटर चालकको हात भाँचिएको छ । उनलाई तुरुन्तै मेडिसीटी हस्पिटल लगिएकोमा थप उपचारका लागि बीएन्डबी लैजाने तयारी गरिएको समानान्तार जेभीका अच्युत खरेलले बताए ।

‘हामीले ३ किलोमिटर खण्डको ४ महिनामा सकिने काम पटक-पटक यस्तै अवरोधका कारण गर्न सकेका छैनौं ,’ उनले भने,’अब कामदारमाथि नै आक्रमण हुन थालेपछि काम गर्ने वातावरण झन बिग्रिन पुगेको छ ।’ सरकारले व्यवसायीले काम गरेनन् भनेर पेल्दै गर्दा आफूहरुलाई कार्यस्थलमा जान नै समस्या पर्न थालेको उनले बताए । प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभूति दिए र स्थानीयले सहयोग गरे ४ महिनामा काम सकाएर देखाउने उनले बताए ।

सरकारले २२ मिटरमा विस्तार गर्ने भनेको यो हरिसिद्धी-गोदावरी सडक स्थानीयको विरोधपछि १६ मिटरमात्रै विस्तार गर्ने निर्णय भएको छ । त्यसैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ‘जब-जब हामी कामलाई गति दिन्छौं, तब यसखालका घटना हुन पुग्छन्,’ शर्माले भने,’सडक विस्तारको काममा स्थानीयले सहयोग गरिरहँदा पनि संघर्ष समितिका नाममा अन्य समूहले बढी अवरोध सिर्जना गर्ने गरेको छ ।’
उनले जनताको जायज मागलाई सरकारले सम्बाधेन गरिसकेको अवस्थामा विस्तारको काममा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् । काठमाडौंमा अघि बढ्न नसकेका थुप्रै विस्तारका आयोजनामा अवरोध हटाएर काम हुन थालेकाले सबैले सहयोग गर्नुपर्ने महानिर्देशक शर्माको भनाइ छ ।