काठमाडौं – विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग-अलग समिति गठन गरेका हुन् । प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रदेश प्रहरी प्रमुख शुरेशविक्रम शाहले भने, ‘समिति बनाएका छौं, बाहिर जे भाइरल भइरहेको छ, त्यो विषयमा अनुसन्धान गर्ने म्याण्डेट दिएका छौं ।’
प्रहरी हेडक्वाटरले पनि एसएसपी उमेश जोशीको नेतृतवमा अर्को समिति गठन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार त्यसबारे प्रहरी प्रधान कार्यालयले आइतबार निर्णय लिने तयारी गरेको छ । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।