Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि १ लाख २० हजार रुख काटे पुग्ने

Monday, October 28, 2019 National Power

निजगढ – दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा १ एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो ।

2ND INTERNATIONAL AIRPORT, NIJGAD

न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताए ।

अन्तराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख काटे पुग्ने उनले बताए । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको हल्लाजस्तो जङ्गल नै सखाप पार्ने गरी रुख काट्नुनपर्ने शर्माले बताए ।

पूर्वपश्चीम राजमार्गको पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ भागमा विभाजन गरी सो क्षेत्रमा रहेको रुख र त्यसका प्रजातिहरुको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ । साथै हाल संशोधित नियमावलीअनुसार एक रुख काटे बराबर १० रुख रोप्नुपर्ने आयोजनाले जनाएको छ ।

यसरी वृक्षरोपण गर्दा प्रतिहेक्टर ७०० रुख रोप्ने र जसका लागि कूल एक हजार ८५० हेक्टर क्षेत्रफल खाली जमीन आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपणका लागि प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश नं ३ को मकवानपुरका केही खाली स्थानहरुको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताए।

जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाका बासिन्दाले भने विमानस्थल पूरा हुनुअघि नै आफूहरुको बासस्थानको टुङ्गो लगाउन माग गरेका छन् । टाँगिया बस्तीमा एक हजार ४७६ परिवारको बसोबास रहेको छ । टाँगिया बस्तीमा विसं २०३१ देखी बस्ती बसेको हो । आफ्नो बस्तीको बारेमा उचित स्थानान्तरणको प्रक्रिया टुङ्गो नलागी विमानस्थल शिलान्यास हुन नदिने अडानमा टाँगियावासी रहेका छन् । विमानस्थल निर्माण हुने पक्कापक्की भइसक्दासमेत सरकारले बस्ती स्थानान्तरणको विषयमा नसोचेको भन्दै स्थानीय चिन्तित भएका छन् ।

टाँगियाका बासिन्दाले आफूहरु विमानस्थल निर्माणको विरोधी नभएको तर आफूहरुको उचित व्यस्थापनको माग गर्दै आएका बताएका छन् । टाँगियावासीको समस्या र मागका विषयमा स्थानीय सरकार गम्भीर रहेको जितपुर सिमरा उपमहानगर पालिकाका–१६ का अध्यक्ष केदार बजगाईँले बताउनुभयो । विमानस्थल आयोजना प्रमुख शर्माले स्थानीय सरकारको सहजीकरणमा बस्ती स्थानन्तरका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्थानान्तरणको प्रक्रिया टुङ्गो लगाइने बताए ।

-RATOPATI#