Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन, म त कानुनमै समस्या देख्छु’: दिपकराज गिरी

Saturday, August 24, 2019 National Power

काठमाडौं – चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए ।
उनले भने,‘रविजी पक्राउ परेपछि, उहाँको बारेमा पहिलोपटक मिडियामा बोल्ने व्यक्ति हुँ । तपाईहरु यो कुरा युट्युवमा पनि हेर्न सक्नुहुन्छ । म रविजीको पक्षमा छु । रिहाईको लागि म आग्रह गर्दछु । तर, मुलुकमा कानूनको शासन छ । म न्यायमूर्तिप्रति विश्वास राख्दछु । भोलि रविजीको रिहाईको कामना गरौं ।’ उनले स्वतन्त्र र निश्पक्ष रुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भीडले छानबिन प्रक्रियामा असर पुर्याउन नहुनेतर्फ सचेत गराए ।
धमलाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि यसको पक्षमा सबैभन्दा बढि बहस गराउने थलो पनि रिपोर्टर्स क्लब भएको सुनाउँदै उनले भने,‘क्लब परिवर्तनको पक्षमा थियो र छ, यसको लागि पक्षमा बहस गर्ने फोरम पनि यही क्लब बनेको थियो । हामी विधिको शासनमा विश्वास गर्छौं । अहिले रविजीलाई भेट्न ऋषि धमला किन चितवन गएन ? भनेरपनि बहस भएको छ, म चितवन जान तयार छु ।’
धमलाले निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुने धारणा राखे । उनले भने,‘यदि यो प्रकरणमा रविजी निर्दोष हुनुहुन्छ भने उहाँले न्याय पाउनुपर्छ, तर गलत काम गरेको छ भने दण्डितपनि हुनुुपर्छ । म व्यवसायिक पत्रकार हो । निर्दोषले न्याय पाउने हो । दोषी दण्डित हुनुपर्छ ।’ उनले पत्रकार शालिकराम पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्ने बताए ।
हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’
उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाए । उनले भने,‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानून संशोधन गरेका छौं । म त कानूनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’
उनले आफू र रवि लामिछानेबीच निकै लामो मित्रता रहेको सुनाए । उनले भने,‘मित्रताको कारणले म यहाँ आएको होईन । म सत्यको पक्षमा बोलुँ भनेर सधैं कोशिस गर्छु । रवि निर्दोष छ । म यहाँ क्लबमा आउँदै गर्दा सडकमा रविलाई रिहाई गर भनेर अहिलेपनि जाम छ । रविजीले सामान्य मानिसको आवाज उठाईदिनुभयो, त्यसैले आज न्याय पाउनुपर्छ । भोलि नजिर बस्न सक्छ, जिन्दगीबाट हारेको मान्छेले आरोप लगाएर मरिदिनसक्छ । यत्रो प्रेसर दिँदाखेरि त रविजी दश दिन बसिसक्नुभयो । कसैले कसैलाई अन्याय गरेको छ भने रविजीलाई भेट्नुपर्छ भन्ने अवस्था छ । आम मानसिले अहिले चलचित्रमा हामीले देखाउने नायक र नायकत्व रविजीमा पाउनु भएको थियो ।’
गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको सुनाए । ‘यो केशमा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ ।’–उनले थपे । उनले कानूनमै सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘राज्यले रविजीलाई न्याय दिनेछ । रिहाई भएर जनताको आवाज लिएर फेरि आफ्नो कर्ममा फर्किनुहुन्छ । राज्यले पनि गम्भिर विचार गर्नुपर्छ । जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन ।’
तर, उनले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए । यद्धपी उनले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाए । उनले भने,‘तर, काराणसहितको भीड हुनुपर्छ ।’
अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए ।
उनले अघि थपे,‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् ।कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’
उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् । सत्य, तथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो केशमा राजनीतिकरण नहोस् ।’
अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’
उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई । उनले थपे,‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।
उनले भने,‘उहाँलाई भयंकर अपराधीजस्तै गरेर पक्राउ गरियो । उहाँले त सुरुवातदेखि नै प्रहरी प्रशासनलाई सहयोग गर्छु भन्नुभएको थियो । तर, जे होस अब अन्तिम निर्णय अदालतको हो । रविजी भनेको आवाजविहीनको आवाज हो । उहाँले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’
कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’