Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ब्राजिलको एक जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु

Tuesday, July 30, 2019 National Power

काठमाडौं – ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो ।

स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको विवादले झडपको रुप लिएको हो । कैदीबन्दीहरुले जेलका दुई अधिकारीलाई बन्धक पनि बनाएका थिए । यद्यपि उनीहरुलाई कैदीको नियन्त्रणबाट मुक्त गराइसकिएको छ ।

झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको बताइएको छ । ब्राजिलका टेलिभिजनहरुले जेलको भवनबाट धुँवा निस्किरहेको र केही कैदीहरु जेलको छतमाथि हिँडडुल गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

ब्राजिलका सञ्चारमाध्यमहरुका अनुसार अल्टामिरा जेलको क्षमता २ सय रहे पनि ३ सय ११ जना कैदीलाई राखिएको थियो । ब्राजिलमा जेलभित्र हिंसा सामान्य मानिन्छ । गत मे महिनामा एकै दिन चार अलग(अलग जेलमा हिंसा हुँदा ४० जनाको मृत्यु भएको थियो ।