कैलाली – कैलालीका स्थानीय तहमा विप्लव समूहको त्रास फैलिएको छ । यो समूहले वडा कार्यलयमा ताला लगाउँदै कर्मचारीलाई समेत थुन्न थालेपछि त्रास छाएको हो । धनगढी उपमहानगरपालिकाका अनुसार, यसका १४ वटै वडा कार्यालयमा विप्लव समूहले ताला लगाइदिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाकासँगै जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरूमा पनि विप्लव समूहले पर्चा छरेर ताला झुन्ड्याइएको छ ।
लम्कीचुहा नगरपालिका कार्यालका कर्मचारी र जनप्रतिनिधिलाई त विप्लव कार्यकर्ताले कार्यकक्षभित्रै थुनिदिएका छन् । साढे आठ बजे रातिसम्ममै कार्यालयमा काम गरिरहेका दुई कर्मचारी र जनप्रतिनिधि कार्यालयभित्रै थुनिएका हुन् । नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनारसहित केही जनप्रतिनिधि रातिको समयमा लेखा फाँटमा काम गरिरहेको भेटिएपछि उनीहरुलाई थुनिदिएको विप्लवका एक नेताले बताए ।
उता गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ को वडा कार्यालय परिसरमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । उनले उक्त वस्तुबारे नेपाली सेनालाई जानकारी गराइसकेको बताए ।
कैलालीजस्तै डडेल्धुरामा पनि विप्लव समूहको गतिविधि बढेको छ । गएराति डडेल्धुराका केही वडा कार्यालयमा शंकास्पद वस्तु राख्दै तालाबन्दी गरिएको छ ।