Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु

Wednesday, July 3, 2019 National Power

काठमाडौं – लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए । ‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।

अहिलेसम्म आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।

बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्लो समय अफ्रिकाका आप्रवासीहरु लिवियाको बाटो भएर युरोप छिर्छन् ।

निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन । सन् २०११ मा उनी मारिएपछि लिविया हिंसा र विभाजनको चक्रव्यूमा फसेको छ । आन्तरिक कारणले कमजोर लिवियाको फाइदा उठाउँदै पछिल्लो समय अफ्रिकन आप्रवासीले युरोप प्रवेशको गन्तव्यका रुपमा यसलाई उपयोग गर्दै आएका छन् ।