Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

Wednesday, June 26, 2019 National Power

पर्वत – मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो ।

कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्‍याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब बढेपछि र्‍याफ्टिङ रोकिएको व्यवसायी होमबहादुर पुनले जानकारी दिए ।

‘अघिल्लो वर्ष जुन ५ सम्म र्‍याफ्टिङ गर्न सकेका थियौँ’, उनले भने, ‘यस वर्ष जुन १५ सम्ममात्रै सञ्चालन भएको हो ।’वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने उनले बताए ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा र्‍याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई–तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ ।