Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बन्दले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित

Tuesday, June 25, 2019 National Power

काठमाडौं -आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।

देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् । बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।

बन्दको प्रभाव देशका अन्य भागमा पनि परेको छ । देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन् । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् । कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको शंकास्पद बस्तु पनि बम नभएको पुष्टि भएको छ । विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।