Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गोताखोरले पनि भेट्टाउन सकेन बेपत्ता जिप

Thursday, June 20, 2019 National Power

हुम्ला – कर्णालीमा खसेर बेपत्ता गाउँपालिका उपाध्यक्षसहित ९ सवार जीप खोज्न हुम्ला पुगेको गोताखोरसहित पुगेको टोली निराश बनेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, बेडुबिसौनास्थित कर्णाली नदीमा खसेर बेपत्ता लु१ज ७१६६ नंको जिप नभेटिएपछि टोली निराश बनेको हो ।

जिप खोजीका लागि लागि कुरिनटारबाट सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा गोताखोरसहितको १० जनाको टोली घटनास्थल पुगे पनि अहिलेसम्म नभेटिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

नदीमा पानीको बहाव बढी भएका कारण खोजीमा समस्या भएको उनले बताए । मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जिप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो । स्थानीयवासीले जिप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् । पाध्यक्ष शाहीको झोलामा रु ६४ हजार, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

ससस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य जटिल बनेको छ । मंगलबार दुर्घटना भएको जिपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

यही असार ३ गते मंगलबार जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ । कर्णाली नदीमा खसेको जिपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब १ हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन ।