Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गोलमेच सम्मेलन गरौं, पूर्वराजा र विप्लवलाई पनि राखौं : कमल थापा

Tuesday, June 4, 2019 National Power

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलन गर्न माग गरेका छन् । त्यस्तो सम्मेलनमा पूर्वराजादेखि विप्लव समूहलाई सहभागी गरउनुपर्ने उनले बताए । पार्टीको प्रदेश नंं ५ कार्यालय उद्घाटन एवं जिल्ला अध्यक्ष तथा सचिवहरुको भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेको बरु थप जटिलता उत्पन्न भएकालेसमीक्षा गर्ने बेला आएको बताए । राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गरी देशमा दीगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने प्रस्ताव गरे ।

‘लोकतन्त्रको विकल्प छैन तर, राष्ट्रिय सहमतिका आधारमा संवैधानिक राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक भइसक्यो’ उनले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठेको छ, समाधानका लागि नयाँ सहमतिमा जानुपर्छ ।’ राजतन्त्रको अन्त्यपछि पनि बेरोजगारी, भ्रष्टाचार, मौलिक धर्मसंस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद र विप्लव माओवादीको नयाँ द्वन्द्वको जन्म जस्ता समस्या कायमै रहेकाले गोलमेच सम्मेलन गर्नुपर्ने उनको तर्क छ । ‘माओवादी हिंसा सदाका लागि अन्त्य गर्न राजतन्त्रको अन्त्य गरिएको, संघीयता र धर्मनिरपेक्षता ल्याएको भनियो तर, माओवादीको हिंसा नयाँ रुपमा शुरु भइसकेको छ’ थापाले भने, ‘राजधानीमै बम आतंक भएको छ, सोलुखुम्बुको एक गाउँमा प्रहरीहरु चौकी छाडेर भागाभाग गरेका छन्, बन्द हड्ताल रोकिएको छैन ।’

संघीयतामा सुधार गरी केन्द्र र स्थानीय सरकारलाई अझ बलियो बनाउनुपर्ने र प्रदेश सरकार खारेज गर्नुपर्ने उनको तर्क गरे । ‘स्थानीय सरकारलाई अझ बढी अधिकार सम्पन्न बनाऔं, संघ छँदैछ, प्रदेश सरकार चाहिन्न’ पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने, ‘यो प्रतिगामी विचार हैन, अग्रगामी, प्रगतिशील र मध्यमार्गी विचार हो ।’ वजेटमा अर्थमन्त्रीले भनेजस्तै वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम नभएको बरु आफ्ना कार्यकर्ता र आसेपासेलाई रातारात धनी बनाउने उद्देश्यले वितरणमुखी बनाइएको आरोप लगाए । कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बाँड्ने सरकारको हैसियत नभएको उल्लेख गर्दै थापाले रेमिट्यान्समा तलमाथि भए देशको अर्थतन्त्र संकटमा पर्ने बताए ।

लोकतन्त्रको आवरणमा वर्तमान सरकार लुटतन्त्र मच्चाएको र सर्वसत्तावाद उन्मुख भएको थापाको आरोप छ । ‘अहिल्यै सर्वसत्तावाद आइसक्यो भन्न नमिले पनि मिडिया काउन्सिल विधेयक, सेना प्रमुखलाई उपेक्षा गरेर सेना परिचालन गर्न सक्ने, न्यायपालिका र संवैधानिक अंगहरुमा पार्टीकरणको प्रयासले सरकार क्रमशः र विस्तारै सर्वसत्तावादमा जाने निश्चित देखिन्छ’ अध्यक्ष थापाले भनेका छन्, ‘एकपछि अर्को ठूलाठूला भ्रष्टाचारका काण्डलाई रोक्न र सर्वसत्तावादलाई रोक्न सरकार इतरका दल र शक्तिहरुबीच सहकार्य अपरिहार्य छ ।’

महामन्त्री डा। धवलशमसेर राणाले सबै राजावादी र हिन्दुवादी मिलेर आन्दोलनमा जानुपर्ने बताए । संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रका लागि राजावादी र हिन्दुवादी शक्ति मिल्नुको विकल्प नभएको भन्दै उनले विचार मिल्ने शक्तिहरुसँग छिट्टै एकता हुने बताए । ‘डा। प्रकाशचन्द्र लोहनी राप्रपामा आउन तयार भइसक्नुभयो, पशुपति शमसेर पनि आउनुपर्छ’ उनले भने, ‘एक दुई महिनाभित्र दुई राप्रपा फेरि एक हुन्छन् ।’