Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रधानमन्त्रीको आलोचना गर्दा सेनाका दुई पूर्वसहायक रथीलाई कारबाही

Friday, April 5, 2019 National Power

काठमाडौं – नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले बतायो । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ छ ।

‘सैनिक मर्यादासमेत ख्याल नगरी बोलेकाले सचेत गराइएको हो’, स्रोतले भन्यो, ‘आफूले लिएको सपथलाई समेत बिर्सेर जथाभावी टिप्पणी गर्न त्यो लेभलको अधिकारीलाई सुहाउँदैन ।’बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको खरो आलोचना गरेका थिए । बानियाँले एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका थिए, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’विधयेकले ‘खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत’ राखेको उनको टिप्पणी थियो ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पक्षमा पनि खुलेरै टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ र ?’ बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गरेको टिप्पणी गरेका थिए । ओलीलाई लक्षित गर्दै उनले भनेका थिए, ‘उहाँको धरातल हेर्नुस् । जनमत हिजो सुल्टिन्छ, आज उल्टिन्छ । बाढीले बगाउँछ यस्ता चिजहरु ।’

उनले जनमत चीर स्थायी नहुने बताउँदै ‘पिपल पाते’ तरिकाले सेना परिचालन गर्नु नहुने बताएका थिए । ‘पिपल पाते तरिकाले सेना परिचालन गर्नु भयो भने जसरी पाकिस्तानमा सेनाले राजनीति गर्न सुरु गर्‍यो, त्यसरी नै नेपालमा पनि पुनः सुरु हुन्छ’, उनले भनेका थिए । उनले खल्तीबाट सेना परिचालन गर्ने केपी ओली को हुन् भन्दै प्रश्न समेत गरेका थिए । सैनिक अधिकारीले अवकास भएको कम्तिमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति नदिने चलन छ । अवकाशपछि पनि पूर्वअधिकारीलाई विभिन्न सेवा सुविधा दिइने भएकाले उनीहरु हत्तपत्त संगठनविरुद्ध बोल्दैनन् ।

अनलाईनखबरबाट