Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आजबाट संसद्को हिउँदे अधिवेशन

Wednesday, December 26, 2018 National Power

काठमाडौँ –  संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।  विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक वर्षभित्र संविधानसँग बाझिएका कानुन परिमार्जन गर्नुपर्ने जिम्मेवारी सदनसमक्ष छ । सरकारले शुक्रबारमात्र संविधानसँग बाझिएका ५५ वटा ऐन एकैपटक संशोधन गर्नेगरी केही नेपाल ऐन संशोधन पनि दर्ता गरेको छ । अन्य विधेयक दर्ताका क्रममा छन् ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विधेयक अधिवेशनकै रूपमा हिउँदे अधिवेशन सुरु हुने बताउनुभयो । महराले भन्नुभयो, ‘विशेषगरी यो अधिवेशन कानुन निर्माणमा नै केन्द्रित हुन्छ । फागुन २१ सम्म हामीले संविधानसँग बाझिएका कानुन पनि परिमार्जन गर्नुपर्ने अवस्था छ । कानुन परिमार्जनका विषयलाई प्राथमिकतामा राख्न पनि हामीले सरकारलाई ध्यानाकर्षण गराइसकेका छौँ ।’ कानुन मन्त्रालयको अध्ययन अनुसार मौजुदा ३३९ वटा ऐनमध्ये १७४ कानुन परिमार्जनको आवश्यकता छ । यस्तै, ३८ वटा नयाँ कानुन अबको अधिवेशनले पारित गर्नुपर्नेछ । ती ३८ मध्ये केही कानुन भने हालै पारित भएकाबाटै सम्बोधन हुनसक्ने अवस्था रहेको पनि मन्त्रालयको निक्र्यौल छ ।
संसद् अधिवेशन आह्वानसँगै संघीय संसद्का दुबै सदनले पहिलो दिनको कार्यसूची तय गरेका छन् । दुबै सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले दैनिक कार्यसूची तय गरेको हो । दुबै सदनमा अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको अधिवेशन आह्वान पत्र पढेर सुनाइनेछ । यस्तै, अधिवेशन नभएको अवस्थामा सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश पनि सदनका दुबै बैठकमा पेस हुनेछ । संवैधानिक प्रावधान अनुसार अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्बाट अध्यादेश प्रतिस्थापन हुनुपर्नेछ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनको पहिलो दिन शोक प्रस्तावको समेत कार्यसूची रहेको बताउनुभयो । अन्तिममा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुनेछ । बुधबारको बैठकमा पूर्वमन्त्री समेत रहनुभएका चक्र बास्तोलाको निधनको दुबै सदनले शोक प्रस्ताव पारित गनेछ । यस्तै, पद्मरत्न तुलाधर र मोतीदेवी थारुको निधनको शोक प्रस्ताव पारित हुनेछ । प्रतिनिधिसभामा भने राष्ट्रियसभाले पारित गरी पठाएका विधेयकको सन्देश पेस हुनेछ ।