Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

Monday, November 19, 2018 National Power

काठमाडौं – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ ।