Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सरकारले तोक्यो पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै

Friday, September 21, 2018 National Power

५ असोज, काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ । एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ । आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो ।

पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ । निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ । सामान्यतः आयात रोकिँदाको अवस्थामा पनि ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने निगमले बताउने गरेको छ ।

तर आयात रोकिएको तीन दिन नबित्दै वितरणमा कोटा तोकेपनि निगमका निर्देशक एवं प्रवक्ता बिरेन्द्र गोइतले भने पर्याप्त इन्धन स्टक रहेको दावी गरे । ‘दुई गतेदेखि रक्सौल डिपोबाट तेल आएको छैन, सिलीगुढी डिपोबाहेक अन्य नाकाको अवस्था पनि त्यस्तै छ’, उनले भने । यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उनले हाहाकार मच्चिहाल्ने अवस्था भने नरहेको बताए ।