Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सरकारले दियो म्यानपावर कम्पनीलाई ११ बुँदे निर्देशन

Saturday, September 8, 2018 National Power

२३ भदौ, काठमाडौं – सरकारले म्यानपावर कम्पनीहरुका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन भन्दै विभागले ११ बुँदे परिपत्र गरेको छ ।

अहिले वैदेशिक रोजगारीमा नाममा विभिन्न प्रलोभन देखाएर म्यानपावर कम्पनीले कामदारलाई ठग्दै आएका छन् । सरकारले बनाएको निःशुल्क भिसा र टिकेटको नियम लागू भएको छैन । यस्तो अवस्थामा म्यानपावर कम्पनीलाई पारदर्शी, उत्तरदायी र मर्यादित बनाउन विभागले विभिन्न निर्देशनसहित पत्र काटेको छ ।वैदेशिक रोजगारीमा पठाउँदा कामदारहरूको व्यवस्थित अभिलेख राख्न भनेको छ । कामदारसँग पासपोर्ट लिँदा कति समयसम्म म्यानपावरमा रहने हो भन्ने कुरा खुलाउनुपर्ने नियम ल्याइएको छ । त्यसको जानकारी भर्पाइ गरेर कामदारलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

अहिले सुरुआतमै आधाभन्दा बढी शुल्क लिने र महिनौं पासपोर्ट होल्ड गरेर कामदार ठग्ने क्रम उच्च छ । त्यसलाई नियन्त्रण गर्न यस्तो निर्देशन जारी गरेको विभागका एक अधिकारीले बताए । म्यानपावरले अब श्रमका लागि विदेश पठाउन लागेका कामदारको अभिलेख सहजै प्राप्त हुने गरी राख्नुपर्ने छ । सबै गतिविधि वेबसाइट बनाएर अपडेट गर्नुपर्ने, नागरिक वडापत्र राख्नुपर्ने, सूचनापाटी तथा उजुरीपेटिका राख्नुपर्ने लगायतका नियम पनि विभागले बनाएको छ ।

म्यानपावरका कर्मचारीलाई कार्यालयमा परिचयपत्रसहित काम गराउनुपर्ने, फोटोसहित कर्मचारीको विवरण देखिने ठाउँमा राख्नुपर्ने, भिजिटङ कार्डमा कम्पनीको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने लगायतका नियम पनि बनाइएको छ । कम्पनीमा अनाधिकृत मान्छेहरु पनि नराख्न निर्देशनमा भनिएको छ । अनुगमनमा नियमहरु मिचिएको भेटिए कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।