Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

स्मार्टफोनले कस्तो असर गरिरहेको छ बालबालिकालाई ?

Monday, May 28, 2018 National Power

चिनमा स्मार्टफोनबाटै सारा आर्थिक काराबोर चल्न थालेको छ । भारतमा पनि यसको सुरुवात भइसकेको छ । आधुनिक र व्यस्त युगमा स्मार्टफोन बिनाको जिवनचर्या कल्पना गर्न सकिन्न । प्रविधिको विकाससँगै मानिसको हातहातमा आइपुगेको स्मार्टफोनको अनेकौं फाइदा छन् । परिवार या साथीसँग जुनसुकै बेला जहाँसुकै सम्पर्क गर्न र सदृश्य कुरा गर्न सकिने स्मार्टफोनको सही उपयोग नहुँदा यसका ‘साइड इफेक्ट’ पनि देखिन थालेका छन् ।

अचेल बच्चाहरुलाई व्यस्त राख्ने वा फकाउने सबैभन्दा सजिलो उपाय ट्याबलेट र स्मार्टफोन भएको छ । महत्वपूर्ण काममा व्यस्त हुनुपर्दा अभिभावक स्मार्टफोन खेलाउन दिएर बच्चालाई भुलाउने गर्छन् । स्मार्टफोन बालबालिकालाई खुसी पार्न दिइन्छ । बच्चालाई गाडीमा चुपलागेर बस्न, रोएको बेलामा फकाउनसमेत स्मार्टफोन दिइन्छ ।

तर, विज्ञहरु भन्छन्, बच्चालाई स्मार्टफोन दिनु उचीत हैन । मनोविज्ञ र प्यारेन्टिङ गुरुहरुका अनुुसार आइप्याड, आइफोन, एन्ड्रोइड र अन्य ग्याजेटले बालबालिकामा नकारात्मक असर पार्छ । उनीहरुका अनुसार टचस्क्रिनसहितका ग्याजेट ३ वर्षभन्दा कमका बच्चालाई दिनै हुन्न । स्क्रिनमा धेरै हेर्ने बानीले बच्चाहरुको बिकास हुँदै गरेको मस्तिस्कमा असर गर्छ । हुन त नयाँ खालका उपकरण बच्चाहरुमा लोकप्रिय हुँदा त्यसले नकारात्मक असर गर्नसक्ने चिन्ता नयाँ हैन । पहिलो पटक भिडियो गेम आउँदा कतै यसले बच्चाहरुलाई हिंस्रक बनाउने हो कि भनेर सबै चिन्तित भएका थिए । यसैगरी टिभीले बच्चाहरुको आँखा खराब बनाउने तर्क पनि गरिन्थ्यो ।

टचस्क्रिन भएका डिभाइसको बारेमा अचेल उत्पन्न चिन्ता पनि त्यस्तै हुनसक्छ । ट्याब्लेट र स्मार्टफोन अझै पनि नयाँ छन् । यसका असर र बेफाइदाबारे पर्याप्त अध्ययन भएका छैनन् । केहि विज्ञले भने स्मार्टफोन र ट्याब्लेटको प्रयोगलाई टेलिभिजनसँग तुलना गर्दै आएका छन् ।

स्मार्टफोनका असर

– साना बच्चाहरुको मस्तिस्कको विकास तिव्र रुपमा भइरहेको हुन्छ । बच्चाहरुले स्क्रिन हेरेर भन्दा पनि मानिससँग अन्तक्रिया गरेर धेरै कुरा सिक्छन् । मानिसहरुसँग प्रत्यक्ष आँखा नजुधाइ स्मार्टफोन मात्रै हेरेर बसिरहेमा उनीहरुको मस्तिस्कको विकासमा असर गर्नसक्छ ।

-स्मार्टफोनले बच्चाहरुलाई आफ्ना आमाबुबा, दाइ र अन्य बच्चाहरुसँग घुलमिल हुनबाट बञ्चित गराउँछ । यसले बच्चाहरुको दृष्टिकोण, सहानुभुती, आँफैलाई बुझ्ने तरिका र आफन्तहरुसँग घुलमिल हुने नैसर्गिक मानविय स्वभावको विकासमा असर गर्छ ।

-उचित शारीरिक विकासका लागि बच्चाहरु धेरै सक्रिय हुनुपर्छ । उनीहरु सक्रिय भएर हिँडडुल गर्नुपर्छ । चौबिसै घन्टा निश्कृय भएर सोफा वा ओछ्यानमा बसेर मोबाईल वा ट्याब चलाउँदा शारीरिक विकासमा असर पर्छ ।

-बच्चाहरुले स्क्रिनमा हेर्ने मात्रै भन्दा पनि प्रत्यक्ष छोएर वा प्रत्यक्ष देखेर धेरै कुरा सिक्न सक्छन् । त्यसैले बच्चाहरुको ज्ञानको विकासको लागि स्मार्टफोन त्यति प्रभावकारी हुँदैन ।

-विद्युतीय पुस्तक (इ-बुक)को माध्यमले पढ्ने बच्चाहरुले भन्दा साँच्चिकै पुस्तकबाट पढ्दा राम्रो ज्ञान पाएको देखिन्छ ।

-डाक्टरहरुका अनुसार धेरै स्मार्टफोन वा ट्याब्लेटको स्क्रिनमा भुल्नाले बच्चाहरुको आयु, ध्यान केन्द्रित गर्नसक्ने क्षमता र खानाको नियन्त्रणमा पनि असर पर्छ ।

-ट्याब्लेट र स्मार्टफोनमा भुल्दा बच्चाहरुको अरु क्रियाकलापमा लाग्ने समय खर्च हुन्छ । बच्चाहरुलाई बाहिर खेल्न, पढ्न र कल्पनाको लागि समय चाहिन्छ ।

-सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार स्मार्टफोन वा ट्याब्लेटले बच्चाहरुलाई प्रत्यक्ष अन्तक्रियाबाट बञ्चित गराउँछ । जसले बच्चाहरुको सिक्ने सामाजिक सीपमा असर गर्छ र अरुको भावना नबुझ्ने बनाउँछ ।

-पढाईमा कमजोर र कम आम्दानी भएका आमाबुबाका बच्चाहरुमा स्मार्टफोन र ट्याब्लेटको असर धेरै देखिएको छ । पढाइमा अब्बल विद्यार्थीहरुले स्मार्टफोन प्रयोग गरेपनि आफ्नो पढाइको स्तरलाई कायमै राखेका छन् ।

-स्मार्टफोन वा ट्याब्लेट सिरानी नजिकै राखेर सुत्ने बच्चाहरु औसतमा प्रती रात २०।६ मिनेट अन्य बच्चाहरुभन्दा कम सुत्छन् । स्क्रिनले उत्सर्जन गर्ने निलो प्रकाशको कारणले मेलाटोनिन नामक हार्मोन कम हुन्छ । स्क्रिनमा धेरै समय बिताउँदा निदाउन पनि गाह्रो हुन्छ ।

फाइदा पनि छन्

केही शोधकर्ता र विज्ञले भने साना बच्चाहरुले टचस्क्रिनलाई प्रयोग गर्न नहुने लोकप्रिय मान्यतामाथि प्रश्न गर्दै आएका छन् । उनीहरुका भनाई छ, स्मार्टफोन वा ट्याब्लेटजस्ता ग्याजेट प्रयोग गर्न दिँदा बच्चाहरुमा प्रविधि अनुकुलको चेतना विकास हुन्छ । जुन आजको युगमा नभइ हुन्न ।

स्मार्टफोन वा ट्याबको प्रयोगले बच्चा प्रविधिको बारेमा जिज्ञासु हुन सक्छ र यसबारेमा धेरै ज्ञान हासिल गर्न पनि सक्छ । यसले बच्चाहरुलाई भविष्यमा पनि धेरै सजिलो बनाउँछ । प्रविधि उनीहरुको विद्यालय सिकाइको एक हिस्सा हो । बच्चाले सानै उमेरमा संसारका विभिन्न कुराहरु थाहा पाउनु राम्रो ।

स्मार्टफोन दिँदा ख्याल गरौं

-बच्चाले स्मार्टफोन चलाइरहेको अवस्थालाई पनि अन्तक्रियात्मक बनाउनुहोस् । स्क्रिनमा आइरहेका कुराहरुको बारेमा बच्चासँग छलफल गर्नुहोस र बच्चाले स्क्रिनबाट वास्तविक जीवनमा के सिकिरहेको छ त्यो थाहा पाउनुहोस् ।

-डिभाइसमा छ भने बिल्ड-इन प्यारेन्टल कन्ट्रोल प्रयोग गर्नुहोस् । उनीहरुले अनलाइनमा के के गरिरहेका छन्, त्यसको बारेमा तपाईले उनीहरुसँग सोधपुछ गर्नुहोस् ।

-बच्चाहरु घरबाहिर भएको बेलामा स्मार्टफोनमा झुम्मिन नदिनुहोस् ।

-स्मार्टफोनमा बच्चाको लागि लक्षित गरि बनाइएका ज्ञानवर्द्धक र उपयुक्त हुने खालका एप्स, गेममात्रै चलाउन दिनुहोस् ।

-सुतेर टिभी हेर्नभन्दा पनि तपाईको बच्चालाई ट्याब्लेटमा वा स्मार्टफोनमा अन्तक्रियात्मक र सिर्जनात्मक सामग्रीहरु प्रयोग गर्न लगाउनुहोस् ।

-बच्चाले दिनमा कति समय स्मार्टफोन वा ट्याब्लेट प्रयोग गर्ने त्यसको एउटा नियम बनाउनुहोस् ।

-टिनएजर्सहरु वा अलि ठूला बच्चाहरुलाई अनलाइनमा गर्ने व्यवहारबारे सिकाउनुहोस् ।

-बच्चाहरुलाई डिजिटल्ली इन्गेज हुनभन्दा पनि स्मार्टफोन र ट्याब्लेटको स्क्रिनबाहिर सामाजिक अन्र्तक्रियामा बढि सहभागी हुन जोड दिनुहोस् ।