Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

म्यान्मारबाट आएका रोहिंग्या काम खोज्दै काभ्रेदेखि गोरखासम्म

Wednesday, May 23, 2018 National Power

९ जेठ, काठमाडौं – म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएका रोहिंग्या शरणार्थीहरू काम खोज्दै काभ्रेदेखि गोरखासम्म पुगेका पाइएका छन् । रोहिंग्या समुदायका अगुवाले नै राजधानी काठमाडौंलगायत काभ्रे र गोरखासम्म पुगेर आफूहरूले काम गरेको स्वीकारे ।
उनीहरू गैरकानुनी ढंगले काम खोज्दै शिविरबाट बाहिरिएका हुन् । गृह मन्त्रालय र अध्यागमन विभागले भने रोहिंग्याहरूले काम गरेको बारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

कपनस्थित शिविरमा बस्दै आएका रोहिंग्या समुदायका अगुवा जाफर आलमले आफ्नो समुदायका व्यक्तिहरू काम गर्न बाहिर जाने गरेको स्विकारे । ‘मेरो टोलीले काभ्रेको लामीडाँडामा घर बनाउने काम गर्दैछ,’ आलमले अन्नपूर्णसँग भने, ‘हामी दैनिक ज्यालादारीमा मजदुरी काम गर्दछौँ।’ काठमाडौँको कपनमा झण्डै ३ सय ३८ रोहिंग्या मुस्लिमहरू शिविर खडा गरेर बस्दै आएका छन् । उनीहरूमध्ये अधिकांश काभ्रेको लामीडाँडा, गोरखा र काठमाडौका विभिन्न स्थानमा मजदुरका रुपमा घर बनाउने र अन्य काम गर्दै आएका पाइएका छन् ।

कुल ३ सय ३८ मध्ये नेपालस्थित शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोग (यूनएचसीआर)ले २ सय ४३ जना रोहिंग्या शरणार्थीलाई प्रमाणीकरण गरेको छ भने बाँकी ९५ जनालाई प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । युएनएचसीआरले म्यानमारबाट आएका रोहिंग्याका ससाना छोराछोरीको शिक्षा र स्वास्थ्यमा केही रकम खर्चिंदै आएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले गैरकानुनी आप्रवासीहरूले कुनै पनि काम गर्न नपाउने बताए । सुवेदीले भने, ‘रोहिंग्यालगायत गैरकानुनी आप्रवासीको गतिविधिहरू निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छौं । काम गर्दै गरेको पाइए नियन्त्रण गरेर कानुनबमोजिम कारवाही गछौं ।’
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले युएनएचसीआरको रिपोर्टले बर्मेलीहरू आएको सूचना दिएको बताए । उनले गैरकानुनी आप्रवासीले काम गर्न नपाउने जिकिरसमेत गरे ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले यसअघि रोहिंग्या समुदायका व्यक्तिहरूलाई अत्यावश्यक काम बाहेक शिविरबाट बाहिर ननिस्कन र अनावश्यक व्यक्तिहरूसँग कुरा नगर्न सुझाव दिएको थियो । गैरकानुनी ढंगले नेपाल भित्रिएका रोहिंग्याहरू कपनमा दुई वटा शिविर संचालन गरी बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै एक सय जना रोहिंग्या सन् २०१७ मा नेपाल प्रवेश गरेको सुरक्षा स्रोतहरूले बताएका छन् ।

अरबिन्द्र गौतम/काभ्रे