Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नागढुंगा–धुलिखेल मेट्रोरेल १५ महिनाभित्र सम्पन्न हुने, २ खर्ब लागत अनुमान

Monday, April 30, 2018 National Power

१७ बैशाख,काभ्रे – नागढुंगा–धुलिखेल मेट्रोरेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन ९डिपिएस० १५ महिनाभित्र सम्पन्न हुने भएको छ । नागढुंगा–कलंकी–कोटेश्वर हुँदै धुलिखेल (अनुमानित) रुट रहने उक्त मेट्रोरेल मार्गको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) हप्ता दिनभित्र जारी गर्ने लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ ।
३७ किलोमिटर लम्बाइ अनुमान गरिएको सो मार्गको अध्ययन गर्न कम्पनी छनोट प्रक्रिया तत्काल थालिने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । आशय व्यक्त गर्ने कम्पनीमध्ये योग्यता पूरा गरेकाको सर्ट लिस्ट गरिनेछ । त्यसपछि ती कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव गर्नका लागि प्रस्ताव माग गरिनेछ । उक्त प्रक्रिया पूरा भएपछि अब्बल कम्पनीलाई विस्तृत सम्भाव्यता अध्ययनको जिम्मा दिइनेछ । यो प्रक्रिया पूरा गर्न २ महिना लाग्नेछ ।

अध्ययन गर्ने कम्पनीसँग सम्झौता गरेको १५ महिनामा अध्ययन प्रतिवेदन बोर्डलाई बुझाउने गरी तयारी भइरहेको प्रवक्ता वाग्लेले जानकारी दिए । यसअनुसार तयारी र अध्ययन पूरा गर्न करिब १८ महिना लाग्नेछ । यसअघि शनिबार बसेको लगानी बोर्डको ३०औँ बैठकले नागढुंगा–धुलिखेल मेट्रोरेल निर्माण तथा सञ्चालन गर्नका लागि विस्तृत सम्भाव्यता अध्ययनको कार्य अघि बढाउन निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले आशयपत्रसम्बन्धी कागजात स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

विस्तृत सम्भाव्यता अध्ययनमा मुख्यत नागढुंगादेखि धुलिखेल पुग्ने मेट्रो रेलमार्गका तीनवटा विकल्पमा स्थलगत अध्ययन गरिनेछ । अध्ययन कम्पनीले तीमध्ये सबैभन्दा उत्तम विकल्पलाई निर्माण तथा सञ्चालनका लागि छनोट गर्न सरकारलाई प्रतिवेदन बुझाउनेछ ।त्यसबाहेक अध्ययन प्रतिवेदनले आयोजनासँग जोडिने वित्तीय, प्राविधिक, वातावरणीय र सामाजिक विषयलाई पनि विस्तृतमा उल्लेख गर्नेछ ।

लगानी अनुमान

सन् २०१२ मा दक्षिण कोरियन कम्पनी चुम्सुक इन्जिनियरिङले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको भूबनोट रेलमार्ग निर्माणका लागि सहज छैन । भूबनोटकै कारण लागत धेरै लाग्ने अनुमान गरेको थियो ।

रेल विभागमार्फत उक्त कम्पनीले गरेको अध्ययनअनुसार १ किलोमटिर दोहोरो मेट्रोरेल मार्ग निर्माणका लागि न्यूनतम ५ अर्ब र अधिकतम ६ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । यस अध्ययनलाई आधार मान्ने हो भने नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल निर्माण गर्नका लागि न्यूनतम कुल १ खर्ब ८५ अर्ब रुपैयाँ आवश्यक पर्छ भने अधिकतम २ खर्ब २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, विस्तृत सम्भाव्यता अध्ययनपछि मात्र लगानी अनुमान यथार्थनजिक पुग्ने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

अनुदान दिएमा मात्र पिपिपी सम्भाव्य

कोरियन कम्पनीको अध्ययन प्रतिवेदनअनुसार काठमाडौंमा मेट्रोरेल निर्माण तथा सञ्चालनका लागि सार्वजनिक निजी साझेदारी सम्भाव्य छैन । सरकारले कुल लागतको ६० देखि ७० प्रतिशतसम्म अनुदान दिएमा मात्र मेट्रोरेल मार्ग निर्माण गर्न सकिन्छ ।

चाखलाग्दो विषय त सञ्चालन खर्च पनि मेट्रोरेल सञ्चालनबाट उठ्न सक्दैन । ‘यसका लागि पनि सरकारी अनुदान आवश्यक पर्ने देखिन्छ,’ ट्राफिक इन्जिनियर गजुरेलले भनेको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

अरविन्द गौतम /काभ्रे