Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रचण्डनिवासको निष्कर्षः एमालेभित्रै कुरा मिलेको छैन, एकताको मिति नतोकौं

Sunday, April 22, 2018 National Power

९ वैशाख, काठमाडौं – माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । एकताका लागि अझै एक(दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ ।बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’

बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराएका थिए । सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको प्रचण्डले बैठकमा व्रिफिङ गरेका थिए । प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता भुसालले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्ट्रको आवश्यकतामा पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित छ । त्यो पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुनेछ ।’

बैठकमा केन्द्रीय नेताहरुले आफ्ना सुझाव राखेका थिए । प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए ।‘एमालेमै कुरा मिलेको छैन’ यसैबीच बैठकमा सहभागी अर्का एक नेताका अनुसार एमालेकै नेताहरुबीच कुरा मिल्न बाँकी रहेकाले एकता प्रक्रियाले अझै केही समय लिने प्रचण्डलगायतका नेताहरुको निष्कर्ष छ ।

बैठकमा उठेको प्रसंग उल्लेख गर्दै माओवादी स्रोतले भन्यो, ‘एमालेकै नेताहरुबाट विरोधाभासपूर्ण कुराहरु आइरहेका छन् । कहिले एकथोक भन्छन्, कहिले अर्कोथोक भन्छन् । त्यसैले एकताका लागि अहिल्यै मिति तोक्न सकिन्न, एकाध महिना अझै छलफल आवश्यक छ ।’

यसअघि एमाले र माओवादीबीच वैशाख ९ गते अर्थात् आज पार्टी एकताको घोषणा गर्ने सहमति भएको थियो । तर केही प्राविधिक विषयमा कुरा नमिलेकाले आजको मिति टरेको छ । दुई पार्टीबीच जनयुद्ध शव्द, चुनाव चिह्न र केन्द्रीय समितिमा कति(कति जना सदस्यहरु रहने भन्ने विषयमा कुरा मिल्न बाँकी छ ।