Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गाउँमा पुरुष नभएपछि महिला नै मलामी

Sunday, April 1, 2018 National Power

१८ चैत, म्याग्दी –  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताए ।

बेली गाउँ यतिबेला शोकमा छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका–२ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा पुर्याइएको थियो । एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट स्व धर्मलाल रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे ।

छोराको शव घरमा आएपछि शोकले विह्वल भएका स्व रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ थिएनन् । ‘गाउँमा करीव ४० घरपरिवारको बस्ती छ, सबै घरबाट पुरुष कि विदेश गएका छन्, कि आरा चिर्न, मिस्त्रीको काम गर्नका लागि गाउँबाहिर छन्’, २९ वर्षीया देवकली विकले भनिन्, ‘यहाँ त मर्दा पर्दा मलामी जाने पनि महिला नै हो ।’

जिल्लाका दुर्गम गाउँ मध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ । यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् ।

गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताइन् । टेकी विकले विगत ४ वर्षदेखि बेली गाउँको खोल्सामा पानी घट्ट चलाउँदै आएकी छन् । घट्ट चलाएर गाउँलेको अन्न कुटानी पिसानी गरेबापत पाएको अन्न र रुपैयाँले घरखर्च चलाउने गरेको उनी बताउँछिन् ।

‘श्रीमान् ज्यामी काम गर्नका लागि गाउँबाहिर जानुभएको छ, घरमा कहिलेकाहीँ मात्र आउनुहुन्छ’, चार छोराछोरीकी आमा विकले भनिन्, ‘घरका सबै काम मैले नै गर्नुपर्छ ।’ स्व रोकाको परिवारलाई सान्त्वना दिन बिहीबार बेली गाउँमा पुगेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले युवालाई आफ्नै गाउँ–ठाउँमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको बताए ।