Monday 17th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

विमान कसरी जल्यो ?

Monday, March 12, 2018 National Power

२८ फागुन, काठमाडौं – बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् । दुर्घटनास्थलमा पुगेका एकजना नेपाली विमान चालकसँग दुर्घटनाको प्राविधिक पक्षबारे के – कस्तो प्रारम्भिक सूचना पाइएको छ भनेर हामीले चासो राख्यौं ।

ती विज्ञका अनुसार विमान दुर्घटनासँग सम्बन्धित केही तथ्यहरु यस्ता छन्ः

तथ्य एकः रनवे  0 २ को साटो २ 0 

अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आयो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।

कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत रनवेबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको देखिएको छ । विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो ।

विमानले अवतरणका लागि ०२ को साटो २० मार्ग समात्नुमा चालकको कमजोरी हो या विमानमै कुनै प्राविधिक खराबी देखिएकाले त्यस्तो हुन पुगेको हो भन्ने खुलेकोे छैन । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले एटेम्ट गर्न नसकेको स्रोत बताउँछ ।

स्रोतले  भन्यो- ‘फरक धावनमार्गबाट विमान अवतरण गर्न खोजिएको देखिँदैमा यसलाई विमान चालकको कमजोरी भनिहाल्न मिल्दैन ।’

तथ्य २- पाइलटले जोगाए पार्किङको ठूलो क्षति

विमान ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ह्याङगरमा ठोकिन लागेको र रन वेको सेन्टरमा ल्याण्ड भएको भए पनि विमान चालकले पार्किङमा रहेका विमानतर्फ ठोक्किनबाट विमानलाई जोगाएको विमानस्थलका कर्मचारी बताउँछन् । स्रोतले भन्यो – ‘विमानहरु पार्किङ भएकोतर्फ खसेको भए अन्य विमानहरुमा पनि आगो लाग्ने र विमानस्थलमा ठूलो क्षति हुन सक्थ्यो, तर चालकले त्यसतर्फ ठोक्किनबाट जोगाएको देखिन्छ ।’

प्रत्यक्षदर्शीका अनुसार विमानस्थल छेउको घरमा समेत विमान ठोक्किन लागेजस्तो देखिएको थियो । तर, कुनै पनि घरहरुमा क्षति भएन । र, घरहरुमा वा अन्य विमानहरुमा नटोक्किई विमानस्थलको साइडमा पुगेर विमान जल्यो । विमान दुर्घटनाबाट निकै ठूलो मानवीय क्षति भएको छ । तर, संवेदनशील ठाउँमा झरेर जलेको विमानले अन्य संरचनालाई भने क्षति पुर्‍याएन ।

तथ्य तीन – दमकलभन्दा सेना छिटो 

हुन त विमानस्थलका अधिकारीहरुले मिडियालाई दिएको प्रतिक्रियामा कन्ट्रोल रुमले दिएको निर्देशन चालकहरुले नमानेर गलत रनवे पक्डिँदा विमान दुर्घटना भएको दाबी गरिएको छ । यसबारे वास्तविकता खुल्दै जाला । तर, यतिमात्रै भनेर विमानस्थल प्रशासन जोगिने स्थिति देखिँदैन ।

किनभने प्रत्यक्षदर्शीका अनुसार विमानका आगो लागेको ठाउँमा तत्कालै पुग्नुपर्ने दमकलहरु नेपाली सेनाका उद्धारकर्मी पुगेपछि मात्रै पुगेका थिए । आगो निभाउने यन्त्रहरु करिब १० मिने पछि मात्रै त्यहाँ पुगेको प्रत्यक्षदर्शीको दाबी छ ।

विमानस्थलमा विपत व्यवस्थापनसम्बन्धी अभ्यास गरिएको धेरै समय भएको थिएन । तर, जब विपत आइलाग्यो, उद्धार कार्यमा चुस्त व्यवस्थापन हुन सकेको देखिएन । चाँडो उद्धार गर्न सकिएको भए मानवीय क्षति केही कम हुन सक्थ्यो कि र ?

अनलाइनखबरबाट