Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सिरियामा जारी नरसंहारको विरोधमा काठमाडौंमा प्रदर्शन

Wednesday, February 28, 2018 National Power

१६ फागुन,  -सिरियामा जारी नरसंहारको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेको छ।पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि एक घण्टा धर्ना दिँदै सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गरेको हो।धर्नामा सहभागीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह गरेका छन्।

सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसहित नरसंहारको विरोध गर्दै शान्ति समाजले धर्ना प्रदर्शन गरेको हो।यसैबीच शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापनपत्र राष्ट्रसंघको नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो ।धर्ना प्रदर्शनमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरिया लगायत एशिया र अफ्रिकाका आधा दर्जन देशहरुमा मानवता विरुद्वको अपराध बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सिरियामा जारी नरसंहार र हृदय विदारक घटनाले मानवता छिया छिया भएको बताए।

‘शक्ति राष्ट्रहरुको उन्माद, धाप र राष्ट्रसंघको प्रभावहीनताका कारण सिरियामा निर्दोष नागरिकहरु मारिएका छन्,’ पहाडीले भने, ‘स्वतन्त्रताका धरोहरहरु भत्कदै गएपछि निरकुंशताले टाउको उठाउने र अत्याचार बढ्ने हुँदा नेपालमा पनि स्वतन्त्रताका स्तम्भहरु भत्किन नदिन चनाखो हुनुपर्छ।’प्रदर्शनमा बोल्दै समाजका सभापति डा। गंगाधर अधिकारीले संसारको जुनसुकै भागमा भएका मानवता विरुद्धको अपराधको शान्ति समाजले निन्दा एवं विरोध गर्दै आइरहेको स्मरण गराउँदै त्यस्ता अपराध विरुद्ध अभियान जारी रहने बताए।

यस्तै संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाज सदैव आतंकवादको विरोधमा रहेको बताउँदै तर आतंकवाद विरुद्धको अभियानका नाममा कुनै पनि राज्यको भूमिका आतंकवादीको जस्तो हुन नहुनेमा जोड दिए। धर्नामा उपसभापति रेनुका पौडेलले सिरियामा महिला र बालबालिका लगायत निहत्था नागरिकहरुको विभत्स ढंगले भएको हत्याको निन्दा गरेकी थिइन्। महासचिव उत्तम पुडासैनीले यस्ता अपराध भविष्यमा दोहोरिन नदिन अन्तराष्ट्रिय समुदायले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।