Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

दीपकको अगुवाईमा सिन्धुलीमा कला यात्रा

Friday, February 16, 2018 National Power

काठमाडौँ-  धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ । सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदिप माध्यमिक विद्यालयमा प्रदर्शन समेत गरिएको थियो ।


जागरणकवि धरणीधर कोइरालाको १२६ औं जन्मजयन्तीका अवसरमा आयोजित सम्पदा कलायात्रा कुशेश्वर दुम्जाबाट सुरु भएको थियो । माघ २४ गते सुरु भएको कलायात्राका क्रममा पाँच जना कलाकारहरुले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाका धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका पाटी, पौवा, मठ, मन्दिर, मानेका साथै पुराना बजार, वस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतार्नुभएको थियो । चित्रमा पुनःनिर्माणको वर्तमान अवस्थालाई समेत देख्न सकिन्छ ।


दुम्जाको धरिनडाँडाबाट सुरुभएको सम्पदा कलायात्रा झाँगाझोली, रातमाटा, मुल्कोटहुँदै सितलपाटीमा पुगेर सम्पन्न भएको हो । कला यात्राका क्रममा पूर्व मन्त्री तथा सांसद हरिबोल गजुरेलले कलाकारसँग भेटगरी यात्राको शुभकामना दिएका थिए ।


खाल्टेस्थित विद्यालयमा भएको प्रदर्शनीमा राखिएको चित्रकलालाई विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयवासीले रुचीपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरेका थिए ।


यस्तै, कलाकार सुरेम देशार र यात्रा संयोजक दीपक श्रेष्ठ ‘विहीन’ ले सुनकोशी क्षेत्रमा रहेका सम्पदाको नाजुक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय जनता र जनप्रतिनिधि जुट्नुपर्ने धारणा राखेका थिए ।


सो यात्राको संयोजन पुस्तकालयका अध्यक्ष दीपक श्रेष्ठ ‘विहीन’ ले गरेका थिए । कलायात्रामा कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशार सहभागी थिए ।


यसैबीच, कुशेश्वर दुम्जा, बालुवाटारस्थित देवीस्थान माध्यमिक विद्यालयमा धरणीधर कोइरालाको १२६ औँ जन्मजयन्ती मनाइएको थियो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष दीपक विहीन र कुशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाप्रसाद कोइरालाले रंग र क्यानभास हस्तान्तरण गरेर कला यात्राको शुभारम्भसहित शुभकामना दिएका थिए ।