Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

Wednesday, January 24, 2018 National Power

१० माघ,बैतडी  – बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यसंस्थामा पानीको अभाव भयो र त्यसपछि बाध्य भएर प्रसूति सेवा बन्द ग¥यौँ ।”

स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिला घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिलेसम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अन्यत्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन् । स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीयवासी तारा भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँ भएर स्वास्थ्यचौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो ।” स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तल्लादेहीमा पानी अभावमा प्रसूति सेवा बन्द हुँदा पूर्ण संस्थागत सुत्केरी अभियान प्रभावित भएको छ ।”

२०७२ सालमा जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्य संस्था मध्येको तल्लादेही स्वास्थ्यचौकीमा गएको वर्षदेखि प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा पनि प्रभावित हुने देखिएको छ । तल्लादेही स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि पानीको व्यवस्थाका लागि जनप्रतिनिधि, स्थानीयवासी लगायतका सरोकारवालासँग छलफल शुरु गरिएको हेल्थ फाउन्डेशन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिनुभयो ।