Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी

Tuesday, January 23, 2018 National Power

९ माघ ,बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिनुभयो । मेलास्थल ईश्वरीगंगाधाममा कुम्भमेलाको तयारी भइरहेको छ । फागुन १ गते रुद्राभिषेक गरी फागुन ३ गतेदेखि ६ गतेसम्म महारुद्री यज्ञको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

विसं २०४० देखि सञ्चालन हुँदै आएको कुम्भमेला चौथोपटक शुरु हुन लागेको हो । ईश्वरीगंगाधामको महत्वका बारेमा सबैलाई बुझाउनका लागि कुम्भमेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । ईश्वरी गंगाधामको महिमाका बारेमा सबैलाई जानकारी गराउन ४८ वर्ष अघिदेखि कुम्भमेलाको शुरुवात गरिएको हो, उहाँले भन्नुभयो, “ईश्वरी गंगाधाममा लाग्ने कुम्भमेलाको भारतको हरिद्वारमा लाग्ने कुम्भमेला जत्तिकै महत्व रहेको छ ।”

ईश्वरी गंगाधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । मेलामा सहभागिताका लागिसमेत समितिले सबै भक्तजनमा अनुरोध गरेको छ । जगन्नाथको बास रहेको पवित्र तीर्थस्थलका रुपमा रहेको ईश्वरी गंगाधामको प्रचारप्रसार गर्नसके यसको महत्व अझै बढ्न सक्ने स्थानीय संस्कृतिका जानकारले बताएका छन् । महाशिवरात्रिका अवसरमा लाग्ने उक्त चौथो कुम्भमेलाको तयारी तीव्र पारिएको छ । बैतडीमा थुप्रै धार्मिक सम्पदा रहेका भए पनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएका छन् ।