Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सुपर ग्यास उद्योगमा भीषण आगलागी

Wednesday, December 20, 2017 National Power

५ पुस, वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । ग्यास उद्योग नजिक रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । उद्योगमा ग्यास लिक भएर बुधबार बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी दुई जना अग्नि नियन्त्रकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन ।

आगलागी हुँदाखेरि उद्योगभित्र कति मानिस थिए भन्ने एकिन भएको छैन । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा त्यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । ग्यास सिलिण्डरहरु र ग्यास प्लान्ट पड्किरहेकाले अग्नि नियन्त्रकहरु नजिक जान सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरीहरु पनि करिब पाँच सय मिटर परै रोकिएका छन् । स्थानीयबासीलाई पनि नजिक जान दिइएको छैन ।ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रहृमनारायण जैसवालले बताए ।

आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योगभन्दा करिब ५ सय मिटर टाढा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । वरपर रहेका अन्य उद्योगहरुमा पनि सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी सिंहले भने, ‘हाम्रो स्रोतसाधान र क्षमताले नभ्याउने भएपछि भित्र पस्ने अवस्था छैन । आगो निभाउन सकिएको छैन । हामीले बाहिरको बस्ती सार्ने तर्फ ध्यान केन्द्रित गरेका छौं ।’ सो ग्यास उद्योग अब्दुलखेर अन्सारीको हो । उनी काठमाडौंमा रहेकाले वीरगञ्ज बोलाइएको प्रजिअ सिंहले जानकारी दिए । यसैवीच घटनास्थलमा खटिएका सुरक्षाकर्मीले ग्यासमा सल्किएको आगो निभाउने एक प्रकारको केमिकल हुने भन्दै त्यस्तो प्रविधि नभएको प्रतिक्रया दिएका छन् ।