Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

भ्रुण हत्या गर्ने आमाहरुलाई कटाक्ष : नवसाहित्यकार ‘नबु सत्याल’

Sunday, November 19, 2017 National Power

उनी पेसाले सरकारी जागिरे हुन् । कृषि विकास बैङ्क बालाजुका अफिसर नबु सत्याल फुर्सदमा साहित्य सृजनामा रम्ने गर्दछन् । वि।स। २०३० सालमा कपिलबस्तुको तौलिहवामा आमा स्वार्गिय सितादेवी सत्यालको कोखबाट जन्मनु भएका उहाँले विद्यालय तहबाटै साहित्य कर्ममा हात हाल्नु भएको हो । विद्यालय तहमा हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुँदै गर्दा उनलाई साहित्य तर्फ हात हाल्न प्रेरित गर्यो ।

सानैदेखि माया भावमा रहनु पर्दछ, प्राणी जगतमा सबैलाई माया प्रेम र सद्भाव राख्नुपर्दछ भन्ने विचार बोकेका सत्यालका कविता र सृजनाहरुमा पनि यस्तै भाव पोखिएका हुन्छन् ।

हाल तारकेश्वर नगरपालिका १० मनमैजुमा स्थायी बसोबास गर्नुहुने सत्यालले काठमाडौँबाट मास्टर डिग्री गर्नु भएको छ । उनलाई साहित्य सृजनामा लाग्न प्रेरित तब भयो जब लामो समयदेखि मृगौलाको डायलाईसिस गराउँदै आउनु भएकी आमा सितादेवी सत्यालको असमाहिक निधन भयो । आमाको उपचारमा उनले आफ्नो धेरै सम्पत्ति खर्च गरे पनि आमालाई बचाउन सकेनन् । प्रकृतिको नियम हो जन्मेपछि मर्नुपर्छ । अनि यही सास्वत सत्यलाई सम्झेर मन बुझाए । ‘विद्यालय, कलेज तहमा फाट्टफुट्ट कविता, कथा गजलहरु लेख्थे । मलाई पारिवारिक बिछोडले यो क्षेत्रमा सक्रिय हुन प्रेरित गर्यो । आमालाई लामो समयसम्म डायलाईसिस गर्दापनि बचाउन सकिन, त्यसपछि मलाई यो माया प्रेम जस्ता कुरामा कलम चलाउन मन लाग्यो ।’ उनले भने । उनका सृजनाहरुमा पनि यस्तै भाव देख्न सकिन्छ । ‘मलाई अरू विषयमा पनि लेख्न मन छ तर, आमाको देहवसान पछि माया ममता र प्रेमका भावहरु आउन थाले ।’ उनी भन्छन् ।

‘मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो
सिर्फ म अटने ठाउँ दिए पुग्छ
मलाई झुटो र वनावटी माया चाहिन्न तिम्रो
सिर्फ हसिलो मुस्कान मात्र छरिदिए पुग्छ’

नबु सत्यालले अहिलेसम्म दर्जनौं फुटकर कविता, गजल र गीत सृजना गरिसकेका छन् । परिवार पाल्न र जीवन धान्न सरकारी जागिर नखाएका भए उनले अहिलेसम्म दर्जनौं कृति नै निकाली सक्थे । ‘पारिवारिक काम र जीवन धान्न जागिर खाँए, मैले जति सृजना गरेको छु सबै फुर्सदमा गरेको हुँ, यदि साहित्य सृजनामै लागेको भए दुई चारवटा सङ्ग्रह पक्कै हुनेथिए ।’ उनी भन्छन् ।नबुले साहित्य सृजनामा आफूलाई प्रेमरस सँगै परम्परागत अन्धविश्वासका विरुद्ध पनि कलम चलाएका छन् ।

केही महिना पालेर मार्छौ भन्ने थाहा पाए आमा
आउदैन थिए तिम्रो कोखमा
आँखा नउघारदैं किन मार्यौ आमा
यही छ तिमीमा मेरो प्रश्न

आजकल धेरै आमाहरुले भ्रुण हत्या गरेका छन् । उनका कविताले भ्रुण हत्या गर्ने आमाहरुलाई कटाक्ष गरेका छन् । उनका अधिकांश कविताहरुमा माया, प्रेम र समाज र राष्ट्रलाई दिने सन्देश प्रवाहित भएका छन् । नबुका साहित्यमा केही गीतहरुपनि रेकर्ड भएका छन् नबुको शब्दमा चर्चित गायक प्रमोद खरेलले गाएको ‘तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न’ गीत निक्कै चर्चित बनेको गीत हो । यो गीतको म्युजिक भिडियो बजारमा आउने तरखरमा छ । उत्साह एल्बमको ‘निद छैन सुनसान रात’ पनि निक्कै चर्चामा आएको गीत थियो ।

भनिन्छ साहित्य मनले देखेर लेखिन्छ । नव साहित्यकार नबु सत्यालले पनि माया प्रेमलाई परिवारमा भोगे, समाजमा देखे अनि कागजमा लेखे । उनी आफूलाई साहित्यमा भर्खरको बालक सम्झन्छन् । ‘मेरो जीवनका तिता मिठा भोगाईलाई कागजमा उतार्ने कोसिस गरेको हुँ । साहित्यमा मैले धेरै सिक्नु छ । म भर्खरको बामे सर्दै गरेको बालक हुँ ।उनी भन्छन् । सत्यालले यसो भनिरहँदा उनका गीत तथा कविताहरू अध्ययन गर्ने हो भने, उनी नेपाली साहित्यमा केही गर्न चाहने क्षमता प्रतिभा भएका व्यक्ति हुन् ।

नव साहित्यकार नबुका दराजमा यस्ता अनगिन्ती सृजना छन् जो नेपाली साहित्य फाँटमा सशक्त बनेर उदाउन तम्तयार छ । उनले अहिलेसम्म कुनै कृति सार्वजनिक नगर्दा यी सृजनाहरू दराजमै थन्किने त हैनन् रु यी सृजनाहरू कतै नजन्मिँदै मर्ने त हैनन् रु आशंका उब्जिएको छ । उनलाई यति बेला हौसला चाहिएको छ, साहस चाहिएको छ । यसो भनिरहँदा नबु भने, आफ्ना रचनालाई गर्भ मैं मर्न दिने पक्षमा छैनन् । ‘मैले साहित्यमा लागेर कमाउने सोच बनाएको त छैन, आफ्ना मनका वह, जीवनका भोगाई, समाजको वास्तविकता पस्कने प्रयास मात्र गरेको हुँ । यसकारण ढिलो चाँडो बाहिर ल्याउने छु ।’

हाम्रो साहित्यिक क्षेत्रमा यस्ता अनगिन्ती सृजनाहरू छन् जो अवसर नपाएर देशका कुना कन्दरामा थन्किएका छन् । हरेक घरका दराजमा, सिरानीमा ओइलाएका छन् । साहित्यले समाजको, राष्ट्रको भाषा बोल्दछ । साहित्य भनेको सामाजिक, आर्थिक, इतिहासको साक्षी पनि हो । हामी कहाँ भानुभक्त आचार्य, भोतिराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यिक नक्षत्रहरु त छैनन् तर, उनीहरूले सृजना गरेका कृतिहरू छन्, जसले नेपालको जिउँदो इतिहास बताउँछन् । त्यस कारण साहित्यमा केही गर्छु भन्ने यस्ता प्रतिभाहरुलाई हामीले सम्मान गर्नै पर्दछ । साहित्य क्षेत्रमा पाइला चाल्नुहुने नबु सत्याललाई शुभकामना ।