१६, काठमाण्डौ,कात्तिक – नेपाली कांग्रेसका नेता डा।प्रकासशरण महतले मधेशमा राजपा–फोरमसँग चुनावी तालमेल हुन नसके पनि स्वस्थ प्रतिस्पर्धा गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले सोचे अनुसार तालमेल हुन नसकेको बताउँदै स्वस्थ प्रतिस्पर्धामा उत्रिने सहमति भएको बताए ।
बुधबार अबेरसम्म भएको छलफलले निष्कर्ष निकाल्न नसकेपछि राजपाका नेताहरुले कांग्रेससँगको तालमेल असम्भव रहेको अभिव्यक्ति दिएका थिए । वाम गठबन्धन बनेपछि लोकतान्त्रिक गठबन्धन बनाउने भन्दै अघि सरेको कांग्रेसले अरु दललाई हैसियत अनुसार सिट दिन नमानेपछि लोकतान्त्रिक गठबन्धन कमजोर बनेको आरोप लगाइएको छ ।
राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने भएपछि तालमेल धरापमा परेको हो । कांग्रेसले सोही क्षेत्रबाट विमलेन्द्र निधीलाई उठाउने भएपछि महतोलाई छाड्न आग्रह गरेको थियो ।
महतोले भने गठबन्धनका नाममा एक महिनासम्म वार्ता गर्दा पनि कांग्रेसले सहमति नगरेको र उसले एकतर्फी रुपमा उम्मेदवार घोषणा गरेको आरोप लगाएका छन् ।
राप्रपा र राप्रपा प्रजातान्त्रिकसँगको तालमेल पनि सोचेअनसार मजबुत हुन सकेको छैन । कतिपय क्षेत्रमा तालमेल गर्ने भनि छलफल चलाइए पनि अन्तिममा कुरा मिल्न नसक्दा एक्लाएक्लै उम्मेदवार उठाएका छन् । कांग्रेसले प्रतिनिधीसभाका लागि दुइवटै राप्रपालाई प्रतिनिधीसभातर्फ ४–४ वटा सिट दिने गरी तालमेल गरेको छ ।
राप्रपा प्रजातान्त्रिकको भागमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २, जहाँ पशुपतिशमशेर राणाले चुनाव लड्दैछन् । त्यस्तै, धनकुटा, रुपन्देही ३ र चितवन ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ । कमल थापा नेतृत्वको राप्रपाले काठमाण्डौ ७, दैलेख, बाँके २ र मकवानपुरमा तालमेलका आधारमा उम्मेदवार बनाउने भएको छ ।