Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

“२०६४ मा नेपाली काँग्रेस एकिकरण हुनुनै गलत थियो” : पुष्पराज पराजुली

Monday, October 30, 2017 National Power

नेपाली काँग्रेसबाट भर्खरै विद्रोह गरी नेपाली काँग्रेस (विपी) गठन भएको छ । मुलतः नेतृत्वले विपी कोइरालाको आदर्श र सिद्धान्तबाट च्युत भइ सत्ता, शक्ति र पैसाको लागि राजनीति गर्ने गरेको आरोप लगाउँदै विपी चिन्तन प्रतिष्ठानका पदाधिकारीहरुको अगुवाइमा हरिबोल भट्टराइको सभापतित्वमा सो पार्टी गठन भएको हो । यही पार्टी गठनको पृष्ठभुमी र औचित्यको बारेमा पावरन्युज डट कमका लागि सम्पादक नवराज दुवाडी ले नेपाली काँग्रेस (विपी) का महामन्त्री पुष्पराज पराजुली संग गरेको कुराकानी :  

चुनावको मुखका नयाँ पार्टी गठन गर्नुभयो नी ?
यो पार्टी चुनावको मुखमा घोषणा मात्र भएको हो हामीले गत असार २८ गतेनै विधिवत ढंगले पार्टी दर्ता गरेर अगाडि बढीसकेका थियौँ ।

नेपाली काँग्रेस (विपी) गठन गर्दै गर्दा, यसमा अगुवाइ गर्नेहरु टिकट नपाएका, पार्टीको आन्तरिक चुनावमा हारेका हरुको वाहुल्य देखिन्छ नी ?
पार्टी घोषणा गर्ने समयको बारेमा हामीले साथीहरुवीचमा छलफल पनि गरेका थियौँ । वाम गठबन्धन, चुनावको मुख भएकोले अलि नकारात्मक सन्देश जान्छकी भन्ने विषयमा छलफल गरेका हौँ । तर पार्टी भएर गएपछि चुनावमा भाग लिने, उम्मेद्वारी दिने कुरा पनि आउँछ, त्यसैले पार्टीको घोषणा गरेर जानुपर्ने स्थिती अहिलेनै आयो ।
अर्को कुरा के भने हामी अधिकांश जति पनि पार्टी पदाधिकारीहरु छौँ सबै टिकटको सिफारीस भएका र टिकट पाउने हैसियतका नै हौँ । त्यसैले टिकट नपाएकाहरुको बाहुल्य छ भन्ने कुरामा दम छैन ।

यदि यसमा दम छैन भने गत असार २८ गतेनै दर्ता भएको पार्टी स्थानीय तहको चुनावमा त देखिएन त ? कि यसमा चाँही तपाइहरुको टिकट पाउनु भएको थियो र चुप रहनुभएको हो ?
होइन यो विल्कुल गलत हो । अहिले मात्र आएर हामीले वैकल्पिक प्रजातान्त्रिक धारको कुरा गरेको होईन । हामीले त २०६४ साल देखि नै यो कुरा उठाइरहेका थियौँ, म त भन्छु २०५१ मा नै नेपाली काँग्रेस फुट्नु पथ्र्यो र फुटेको काँग्रेस २०६४ मा मिल्नै हुँदैनथ्यो । जब ०६४ नेपाली काँग्रेस एक भयो त्यो बेला देखिनै काँग्रेसले आफ्नो आदर्श सिद्धान्त भुल्दै पैसा र बाहुबलीको भरमा पार्टी चलाउँदै आएको छ । हामीले पटक पटक नेतृत्वलाई यसरी पार्टी चल्दैन ।

नेपालका कम्युनिष्ट पार्टीहरुले समेत आदर्श मान्ने गरेको विपिको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट नेपाली काँग्रेसको नेतृत्व च्युत हुँदै गएको हामीले पायौँ । प्रजातन्त्र, राष्ट्रियता र समाजवादको मुल सिद्धान्तबाट पार्टी विचलित हुँदै गएपछि विगत केही बर्ष देखीनै वैकल्पिक प्रजातान्त्रिक शक्तीको खाँचो मुलुकलाइ छ भन्ने मान्यताका आधारमा अगाडि बढेका थियौँ । त्यसैले यो जुन आरोप लगाउनु भएको छ त्यो सरासर गलत हो ।

मैले आरोप लगाएको भन्दा पनि तपाइहरुको व्यवहारले पुष्टि गरेको कुरा हो नी यो त ?
व्यवहारिक रुपमा त्यस्तो देखिएको होला तर यो पार्टी गठनको मुल आधार भनेकै नेपाली काँग्रेसले आफ्नो आदर्श पुरुषको सिद्धान्तबाट विचलित भएकोले प्रजातन्त्र, राष्ट्रियता र समाजबादको रक्षाको लागि नै यो पार्टी गठन भएको हो ।

 

तपाइको कुरा सुन्दा त तत्कालिन प्रजातान्त्रिक काँग्रेस र त्यसका नेतृत्वकर्ताहरु र अहिलेका पार्टी सभापती शेरबहादुर देउवालाई खुइल्याउन नयाँ पार्टी गठन गर्नुभएको भन्ने बुझिन्छ नी ?
कुनै व्यक्ति विषेशलाइ खुइल्याउने भन्दा पनि पार्टीको नीति र आदर्श विपरीत जाने सबैका विरुद्ध हाम्रो अभियान हो, चाहे त्यो देउवा हुन वा पौडेल ।

पार्टी मिल्नै हुँदैनथ्यो भन्ने तपाइको आशयले त तत्कालिन प्रजान्त्रिक काँग्रेस मुल पार्टीमा एकिकृत भएपछि सबै विग्रिएको जस्तो कुरा गर्नु भयो नी त ?
एक हिसाबले हो पनि । किनभने नेपाली काँग्रेस भित्र लोकतान्त्रिक पद्धती अपाउने कम्युनिष्टहरुको पनि आकर्षण बढ्दै थियो । केही हदसम्म पार्टी समाहित भएर काम गर्ने जमात पनि बढ्दै थियो । तर जब पार्टी एक भयो त्यसपछि धनवाद र डनवाद हावी हुन थालेपछि इमान्दार कार्यकर्ताहरु पछि पर्न थाले । जस्ले साँच्चै पार्टीको आदर्शलाइ पछ्याएर पार्टीमा काम गर्दै थिए ती पछि पर्न थाले र विस्तारै इमान्दार कार्यकर्ताहरुको पलायन हुन थाल्यो र पार्टी नीति विहिन, सिदान्द्ध विहिन हुन पुग्यो ।

पार्टी विग्रिँदै थियो भन्ने थाहा पाएपछि नेतृत्वलाइ सचेत गराउने की पार्टी छोडेर हिड्ने त ?
हामी विपि चिन्तन प्रतिष्ठानका साथीहरुले धेरै पटक सामूहिक, एकल रुपमा भेटेर सम्झाउने कोसिस गर्यौँ । एक्सपर्ट राखेर विपिको विषयगत नीतिको बारेमा नेताहरुलाइ बुझाउने कोसिस गर्यौँ । तर कसैले हाम्रो कुरा सुनेनन् । पार्टी सभापति लगाएत वरिष्ठ नेताहरुलाइ कार्यक्रममा बोलाएर यस बारे बुझाउने कोसिस गर्यौँ तर कसैले वास्ता गरेनन् । महामन्त्री ज्यू आउनुभयो उद्घाटन गरेर हिडनु भयो । उहाँको दिमागमा सत्ता र सम्पति बाहेक केही रहेन । हाम्रो कुरालाइ कसैले सिरियस रुपमा नलिएपछि हामीले यो कदम चाल्न बाध्य भएका हौँ ।

पार्टीले आफ्नो आदर्श विपरित अरुको लहैलहैमा लागेर धर्मनिरपेक्षता, गणतन्त्र संघीयता जस्ता कुराहरुमा आफुलाइ उभ्यायो । जुन कुरा जनमतसंग्रहबाट निर्णय गर्नुपथ्र्यो । यसमा पनि हाम्रो ठूलो विमती रही आएको छ ।

ए भनेपछि कार्यक्रममा नआउने, तपाइहरुको कुरा नसुन्ने, धर्म निरपेक्षता गणतन्त्र जस्ता कुराहरुमा मनलाग्दी गर्दै हिड्ने भनेर तपाइहरुको असन्तुष्टि हो ?
हो कतिपय कुरा यीनै । हामीले के भन्दै आएका छौँ भने यो देशमा सनातन हिन्दुधर्म कायम हुनुपर्छ र त्यसको लागि पनि हाम्रो अभियान हो ।

अनि गणतन्त्र र संघीयता ?
यी गम्भिर विषयहरु हुन यस्ता विषयहरुमा जनमतसंग्रहबाट निर्णय गरिनु पर्दछ ।

तपाइहरुले नेपाली काँग्रेस गठन गर्दै गर्दा उहाँको लिगेसी बोकेर हिड्ने, उहाँको आदर्श र पदचापलाइ फलो गर्ने भनेर आम जनतामा चिनिएका अनुहारहरु त तपाइको पार्टीमा कहीँ कतै देखिनुहुन्न नी ?
होइन धेरै साथीहरु हाम्रो साथमा हुनुहुन्छ । उहाँहरुले हामीलाइ निकै साहस र साथ दिइरहनु भएको छ । निकट भविष्यमानै उहाँहरुको साथ तपाइले देख्न सक्नु हुन्छ ।

अब पार्टीनै फुटाएर गइसक्नु भयो भने नामै भनिदिनुस न त को को हो तपाइको पार्टीमा सामेल हुन चाहने नेताहरु ?
अहिले नै नाम सार्वजनिक नगरौँ होला । हामी १६ गतेसम्म साथीहरुको नाम डिस्क्लोज गर्दैनौँ । अब यहि कार्तिक १६ गते पछि थाहा हुन्छ, कोको नेताहरु हामीमा सामेल हुनुहुन्छ भनेर ।

ए भनेपछि १६ गते सम्म टिकटको लागि कुर्ने अनि टिकट पाइएन भने तपाइहरुसंगै पार्टीले विपिको आदर्श मानेन भनेर आउने हो ?
त्यस्तो होइन । कति नेताहरुको आफ्नो वाध्यता छ ती सबै कुराहरुलाइ म्यानेज गरेर हाम्रो पार्टीमा आउनुहुन्छ । अवश्यनै राजनीति गर्ने मान्छहरुको केही कुराहरु त हुन्छन् नै । तर हामीले नयाँ पार्टी घोषणा गर्दै गर्दा ती साथीहरुको साथ र सहयोग थियो र हुन्छ नै ।

अब चुनावको कुरा, तपाइ पनि उठ्दै हुनुहुन्छ होइन ?
हो म तनहुँको २ नम्बरबाट उम्मेद्वारी दिँदै छु । पहिलो चरणमा हाम्रो आन्तरिक तयारी नपुगेकोले चार पाँच वटा जिल्लामा मात्र स्वतन्त्र रुपमा हाम्रो उम्मेद्वारी परेको छ । भने दोश्रो चरणको लागि ४५ वटै जिल्लामा उम्मेद्वारी दिने हाम्रो तयारी छ । भने समानुपातिक तर्फ प्रदेश र केन्द्रको गरी १३० जना भन्दाबढीको नामावली बुझाएका छौँ ।

अहिलेको वाम र लोकतान्त्रिक गठबन्धन भनेको देशभन्दा बाहिरको रसायनको बनेको गठबन्धन हो । जनताले यो कुरा बझेका छन् । त्यसैले राष्ट्रवादी चरित्र बोकेको नेपाली काँग्रेस (विपी)ले चुनाव जित्ने आधार बलियो बन्दै गएको मैले देखेको छु ।

अनि काँग्रेसको भोट काटेर, हेबिवेट क्यान्डिडेटहरुसंग चुनाव लडेर जित्नु हुन्छ त ?
तनहुँमा मेरो आफ्नै संगठन छ । मेरो व्यक्तिगत पहलले र सकृयताले बनेको संगठन भएकोल्े चुनाव जित्नेमा म ढुक्क छु । किनपनि भने पुष्प पराजुलीलाइ भोट हाल्ने मान्छे हिजो रुखमा भोट हाल्ने मात्रै नभएर एमाले माओवादीका साथीहरुले पनि मलाइ भोट दिनुहुन्छ । गाउँमा जनतासंग भिजेर काम गर्ने मान्छेलाइ भोट नदिए कस्लाइ दिने ।

हिजो काँग्रेसको राजनीति गरेको हुनाले पुष्प पराजुलीले काँग्रेसको मात्र भोट काट्छ भन्ने गरेको सुन्छु तर के हो पुष्प पराजुली सबै जनताको निमित्त राजनीति गरेको मान्छे हो । काँग्रेसका ती पुराना र काम नगर्ने नेता भन्दा जनताको प्रत्यक्ष घरदैलोमा पुगेर जनताको मर्म बुझ्ने नेता भनेर तनहुँबासीले चिनेका छन् । वाम गठबन्धनको नाममा केन्द्रमा जे भएपनि तनहुँका जनताले पुष्प पराजुलीलाइ चिनेका छन् र मलाइ भोट दिन्छन् भन्ने कुरामा ढुक्क छु ।

अस्ति भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा रुख चिन्हबाटै चुनाव लड्दा त तनहुँका जनताले तपाइलाइ पत्याएनन् भने अब झन् फुटेर गएर चुनाव जित्नुहुन्छ भन्ने आधार के छ ?
अस्ति म चुनाव लडेको क्षेत्र भनेको कम्युनिष्ट बाहुल्य भएको क्षेत्र हो । त्यहाँ कहिले पनि काँग्रेसले चुनाव जितेको छैन । फेरी त्यो स्थानीय तह भनेको सानो इकाइ हो । कम्युनिष्ट बाहुल्य भएको सानो इकाइबाट चुनाव लड्दा थोरै मतले मात्र म पराजित भएको हुँ । अब म चुनाव लड्ने क्षेत्र भनेको वृहत छ । जसरी स्थानीय तहको निर्वाचनमा पनि मैले कम्युनिष्टहरुको मत पाएको थिएँ यसैको आधार मेरो पनि व्यक्तिगत प्रभावको आधारमा मैले चुनाव जित्छु ।

पुष्प पराजुलीलाइ जनताले चिनेका होलान् तर तपाइको नयाँ पार्टीको बारेमा कहिंकतै कसैलाइ पनि जानकारी छैन, रुखमा भोट हालेर पुष्प पराजुलीले चुनाव जित्ने अवस्था रहेन । विना प्रचार प्रसार र हल्लाखल्ला नगरीकन तपाइले चुनाव जित्ने आधार त देखिँदैन नी ?
हो विविध कारणले हामीले पार्टीको प्रचार प्रसारलाई तिव्र बनाउन सकेका छैनौ । अव आज भोली बाटै योजनावद्ध ढंगले पार्टीको बारेमा जनतालाइ जानकारी गराउने अभियानमा छौँ । अब छिट्टैनै जनतामाझ नेपाली काँग्रेस (विपी) लोकप्रिय पार्टीमात्रै होइन आगामी ५ बर्ष भित्रमा नेपालकै पहिलो पार्टी बनाउने अभियान हाम्रो हो र यो अभियानमा हामी सफल हुन्छौँ भन्नेमा दृढ विश्वास पनि छ ।

अहिलेको अवस्थामा नेपाल मात्र नभएर विश्वमा जहाँपनि निर्वाचनमा आदर्श र सिद्धान्त भन्दा पैसा हावी भएको देखिन्छ । यो कुरा तपाइहरुले बुझ्नु भएको होला । यो चुनावको लागि नेपाली काँग्रेस (विपी) र तपाइलाइ आर्थिक रुपमा कस्ले सहयोग गरेको छ ?
एउटा कुरा के भने पद र पैसाकै भरमा चुनाव लड्ने र भए हामीलाइ पुरानै पार्टी ठिक थियो । हो पार्टी चलाउन केही पैसा चाहिन्छ, त्यो हामी शुभचिन्तक र पार्टीका कार्यकर्ताहरुबाट सहयोग माग्छौँ । गच्छेअनुसारको सहयोग गर्न सबैलाइ आग्रह गर्दछौँ । जहाँसम्म मेरो कुरा छ, अवश्य भष्ट्राचार गरेर अकुत सम्पत्ति कमाउनेमा म पर्दिन । त्यसैले म संग पैसा छैन । तर आम जनताले पुष्प पराजुलीको पृष्ठभुमी, आदर्श र सिद्धान्त के हो भन्ने कुरा जनताले बुझेका छन् ।

विकास र सुशासनको कुरा गर्नुपर्दा देशमा आवश्यकता अनुसार विकासका पुर्वाधारहरु हाम्रो प्राथमिकतामा पर्ने छन् भने गणतन्त्र आइसकेपछि यसको नाम भजाएर भष्ट्राचार गर्ने नेताहरु हाम्रो निशानामा पर्नेछन् ।

नेपालको इतिहासमा मुल पार्टीसंग असहमती राखेर, सिद्धान्त र आदर्शको कुरा लिएर पार्टीबाट बाहिरिनेहरु कि त अस्तित्व जोगाउन संघर्षरत छन् कि त पेन्डुलम भएर बसेका छन् । सिपि मैनाली, बाबुराम भट्टराइ यसका ज्वलन्त उदाहरण हुन् । तपाइको पार्टी चाँही कसरी उठ्छ त ?
बाबुरामजी पार्टीको फष्ट म्यान बन्ने लालसामा पार्टी छोडेर नयाँ पार्टी गठन गर्नुभएको हो । उहाँ न कम्युनिष्ट, न प्रजातन्त्रवादी । सिद्धान्तहिन राजनीति गर्ने मान्छेको भविष्य कहीँ पनि छैन र उहाँको अहिलेको स्थिती हामी सबैले देखेका छौँ । केवल आफ्नो भविष्य कता सुरक्षित हुन्छ, कहाँबाट टिकट पाउँछु भनेर यता र उता दौडिरहनु भएको छ । सिपि जी को पार्टीमात्रै संगठन छैन ।

हामी नेपाली काँग्रेस (विपी) भनेको आदर्श र सिद्धान्त सहित देशभरी संगठन भएको पार्टी हो । विपि चिन्तन प्रतिष्ठान देशभर सन्जाल भएको संस्था हो र यसैमा रहेर काम गरेका साथीहरुको संयुक्त प्रयासबाट नयाँ पार्टी गठन भएको हो । त्यसैले हामीसंग संगठन र सिद्धान्त दुवै मजवुत अवस्थामा छ र अबको ५ बर्ष भित्र हामी देशकै ठूलो पार्टी बन्छौँ ।

गणेशमान सिंह कृष्णप्रसाद भट्टराइ जस्ता टावरिगं पर्शनालिटी भएको राजनेताहरुलाइ थांग्नामा सुताउन सक्नेहरुसंग विद्रोह गर्न कत्तिको सजिलो छ ?
हामी सिद्धान्तको राजनीति गर्ने समूह हौँ । व्यक्तिगत रुपमा कसैको विरुद्ध हामी छैनौँ । अहिले पनि हाम्रो नजिकको सहयात्री भनेको नेपाली काँग्रेसनै हो । खाली के हो भने विपीको आर्दश र सिद्धान्तलाइ भुल्यो, यसलाई जोगाइराख्नु पर्छ । दुनियाले मानेको कुरो हामी आँफैले विर्सन थाल्यौँ भन्ने हो । आज पनि नेपाली काँग्रेस र नेपाली समाजको आधारभुत सिद्धान्त भनेको विपी कोइरालाकै विचारमा आधारित छ र त्यही त्यसैलाइ हामीले आदर्श मानेका छौँ भने हामीलाई त्यती गाह्रो नहोला ।

वामपन्थीहरु एकजुट हुँदैछन् तपाइहरु चोइटिँदै हुनुहुन्छ, फेरी प्रजातान्त्रिक समाजवादको पनि कुरा गर्नुहुन्छ । आधुनिक राजनीतिमा अंक गणितले धेरै महत्व राख्दछ, अब तपाइहरुको कदमले त वामपन्थीहरुलाइ साम्यवादमा पुग्न झन् सजिलो बनाउने भयो है ?
यो वामपन्थीहरुको गठबन्धन भनेको दुइदिनको रामछायाँ मात्र हो । यीनीहरु कालान्तरसम्म मिलेर जान सक्छन् भन्ने मलाइ कत्तिपनि विश्वास छैन । र आजको युगमा नेपालमा साम्यावदको सपनामत्र देख्न सकिन्छ व्यवहारमा लागु गर्न कुनै पनि हालतमा सकिन्न । नेपालमा कम्युनिष्टहरु मिलेर साम्यवाद आउँछ भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।

र अन्त्यमा केही ?
हामीले यो देशमा सबैले आदर्श मानेका राजनेता विपी कोइरालाको सिद्धान्त र आदर्शलाइ अघि बढाउने स्वरुप नेपाली काँग्रेस (विपी) को गठन गरेका छौँ । यो देशको राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई मजवुत बनाउन आगामी निर्वाचनमा नेपाली काँग्रेस (विपी)को चुनवा चिन्ह करुवा मा मतदान गरी विजयी गराइदिनु हुन सम्पुर्ण देशवासीहरुलाइ आग्रह गर्दछु ।