Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाली युवा फुटबल टिमले मंगलबारदेखि सुरु हुने एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेल्दै

Friday, October 27, 2017 National Power

१० कार्तिक,काठमाण्डौ – एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाली युवा फुटबल टिमले मंगलबारदेखि सुरु हुने एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेल्दैछ।

आइतबार किर्गिस्तान प्रस्थान गर्ने नेपालको लक्ष्य एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुने रहेको छ। समूह ए मा रहेको नेपालले छनोट हुन आफूभन्दा तुलनात्मक बलिया प्रतिद्वन्द्वीलाई पराजित गर्नुपर्नेछ।

बलिया प्रतिद्वन्द्वीलाई पराजित गरेर छनोट हुने लक्ष्य राखेको नेपालको तयारी भने छोटो रह्यो। प्रशिक्षक छिरिङ लोप्साङ नेपालले पर्याप्त तयारी गर्न नपाएको स्विकार गरे। पछिल्लो एक महिना दशैं र तिहार जस्ता चाडपर्वले प्रशिक्षणलाई असर गरेको छ,लोप्साङले नेपाल लाइभसँग भने।

तयारी गर्न पर्याप्त गर्न नपाए पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा भने लोप्साङ आशावादी छन्। साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको टिम उच्च मनोबलमा छ, उनले भने, छनोटमा सहभागी देशको सिनियर टिम बलिया भए पनि उमेर समूहका टिम नेपाल जस्तै हुन्।

नेपाली युवा टिमको बन्द प्रशिक्षणमा रहेका अधिकांश खेलाडी गत महिना भुटानमा साफ यू–१८ च्याम्पियनसिप खेलेका छन्।

च्याम्पियनसिपको पहिलो खेलमा भुटानसँग पराजित नेपालले लगातार ३ खेल जितेर उपाधि जितेको थियो। अन्तिम खेलमा भारतलाई २–० ले हराएपछि नेपाल च्याम्पियन बनेको थियो।

भुटानमा गएका राजीव लोप्चन भने चोटका कारण टिममा उपलब्ध नहुने प्रशिक्षक लोप्साङले जानकारी दिए। टिममा अन्य चार खेलाडी पनि चोटबाट फर्कन कोसिस गरिरहेको उनको भनाइ छ। लोप्साङले चोटग्रस्त खेलाडीको नाम लिन भने चाहेनन्। केही खेलाडीलाई सामान्य चोट लागेको छ। शुक्रबारसम्म फिट हुन नसके उनीहरुको स्थानमा नयाँ खेलाडीलाई मौका दिन्छौं।

नेपालको अर्को समस्या भनेको प्रतिद्वन्द्वीबारे पर्याप्त जानकारी नहुनु हो। हामीलाई प्रतिद्वन्द्वीबारे खासै जानकारी छैन। त्यसैले हामीले पहिलो खेलदेखि नै आत्मविश्वासी भएर खेल्न जरुरी छ, लोप्साङको भनाइ छ।

एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा प्रशिक्षण गरेको युवा टिमले अहिले भने हल्चोक मैदानमा अभ्यास गरिरहेको छ। किर्गिस्तानमा खेल्ने मैदान प्राकृतिक घाँसे मैदान भएकाले नेपालले हल्चोकको प्राकृतिक घाँसै मैदानमा प्रशिक्षण गरेको हो।

एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह   ए  मा नेपालसहित युएई, ‌ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्। समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।

नेपालको पहिलो खेल १४ कात्तिकमा आयोजक किर्गिस्तानसँग खेल्नेछ। नेपालको दोस्रो खेल १६ कात्तिकमा बहराइनसँग, तेस्रो खेल १८ कात्तिकमा युएईसँग तथा चौथो खेल २२ कात्तिकमा ओमानसँग छ।

सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।