Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सूर्य देवको पूजा आराधना गर्ने छठ पर्व शुरु

Tuesday, October 24, 2017 National Power

७ कात्तिक,काठमाडौँ – सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ ।

कात्तिक शुक्ल पञ्चमीका दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमै सबी छठ मनाउँदै आउनुभएका सञ्जय गुप्ताले बताउनुभयो । “षष्ठीका दिन व्रतालुबाट ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पांग्रा अङ्कित चित्र बनाइन्छ” उहाँले भन्नुभयो ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गइने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यही रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा ब्रतालुहरूले लगाएको लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको श्याम यादव बताउनुहुन्छ । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो ।

कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा एवं आराधना गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएकाले यो कुनै क्षेत्र विशेषको मात्र पर्व नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । “विशेषगरी तराई क्षेत्रका मानिसले मनाउने भएकाले यसलाई क्षेत्रीय पर्व भनिएको हुनसक्छ, तर यो सूर्यको उपासना गर्ने शास्त्रीय पर्व हो”, उहाँले भन्नुभयो ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो ।

पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरि मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र पतिबाट सदव्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको अर्काथरिको भनाइ छ ।