Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

आफ्नो कार्यकालभर कम बोल्ने धेरै काम गर्ने : प्रधानमन्त्री देउवा

Wednesday, June 7, 2017 National Power


२४ जेठ, काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालका चार प्रतिबद्धता अघि सारेका छन्। मंगलबार प्रधानमन्त्रीका रूपमा उम्मेदवारी प्रस्तुत गर्ने क्रममा देउवाले संविधानले तोकेबमोजिमका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नेदेखि भूकम्पपीडितलाई राहत र पुनर्निर्माण सम्पन्न गर्नेसम्मका प्रतिबद्धता जनाएका हुन्। संसद्लाई सम्बोधन गर्दै उनले आगामी ७ माघ २०७४ भित्र बाँकी स्थानीय तहको निर्वाचनसहित तीनै तहको निर्वाचन गराउने प्रतिबद्धता जनाए। उनले विपक्षी दललाई समेत विश्वासमा लिएर संविधानका अन्तरवस्तुप्रति असन्तुष्ट मधेस केन्द्रित दलका मागअनुसार संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमै निर्वाचन सम्पन्न गरेर संशोधनका विषयमा छलफल गर्न प्रस्ताव गरेलगत्तै देउवाले सकेसम्म निर्वाचनकै बीचमा संशोधन गरिने बताए। संसदमा उनले आफ्नो कार्यकालमा विकासको लहर ल्याई मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने घोषणासमेत गरे। विभिन्नअन्तर्राष्ट्रिय दातृ निकायसँगको समन्वयनमा विकासको लहर ल्याउने उनको घोषणा छ। देउवाले भूकम्पपीडितहरूको पुनःस्थापना गर्नु समेत आफ्नो प्राथमिकतामा रहेको बताए। उनले भने, ‘अब भूकम्पपछिको पुनर्निर्माणमा कसले के गर्‍यो् गरेन भन्ने कुरा छाडौं, सबै मिलेर काम गरौं।’ देउवाले बिजुली, सिँचाइ, ग्रामीण सडकसहितका क्षेत्रमा पूर्वाधार विकास आफ्नो अर्को प्राथमिकता भएको बताए। उनले अब द्रुत गतिमा आर्थिक विकास गर्न‘पर्ने भन्दै पूर्वाधारको विकासमा समेत डटेर लाग्ने र त्यसका लागि पुँजी जम्मा गर्नेतर्फ ध्यान दिइने बताए । सडक सञ्जाल पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण विषय भन्दै देउवाले जनताले गरेको उत्पादनलाई बजारसम्म पुर्‍याउन सडकलगायतको पूर्वाधार आवश्यक रहेको औल्याउँदै आफू यसलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाए। उनले देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउने प्रतिबद्धता पनि जनाए। नेपालको भूमि भारत र चीनविरुद्ध प्रयोग हुन नदिने भन्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध आफ्नो कार्यकालमा सुमधुर रहने प्रतिबद्धतासमेत जाहेर गरे। आफ्नो कार्यकालभर कम बोल्ने र धेरै काम गर्ने उनको प्रतिबद्धता छ ।