१२ जेठ, काठमाडौं – सद्भावनाको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरबासीले मधेसमूलकी एक महिलालाई जनप्रतिनिधि चुनेका छन्। यसले मधेसी र पहाडिया समुदायबीच तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ। तारकेश्वर नगरपालिका-४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन्। वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेकातर्फबाट दलित महिला सदस्य उम्मेदवार बनेकी हुन । उनी ५ सय ८५ मतसहित विजयी भएकी हुन्। ठाकुर रौतहटको प्रेमपुरगानाईमा जन्मिएकी हुन्। रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा विवाह भएपछि उनी काठमाडौं आएकी हुन्।