Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नगरपालिकामा दुई कार्यकारी, कर्मचारीदेखि सेवाग्राहीसमेत अन्योलमा

Wednesday, April 5, 2017 National Power

२३ चैत, भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा दुईजना कार्यकारी अधिकृत भएपछि कर्मचारी र सेवाग्राही अन्योलमा परेका    छन् । गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनाको क्रममा जिल्लाको नगरकोट नगरपालिका चाँगुनारायण नगरपालिकामा गाभिएपछि यस नगरपालिकामा दुई कार्यकारी अधिकृत कार्यरत छन् ।

सरकारले चैत ४ गते कार्यकारी अधिकृतहरुको सरुवा गर्ने क्रममा साविक चाँगुनारायण नगरपालिकामा कार्यकारी अधिकृत लोकनाथ भुसाललाई स्थानीय तह पुनःसंरचना घोषणा भएपछि गाभिएको चाँगुनारायण नगरपालिकामा सरुवा गरेको थियो ।

नगरकोट नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत राजेन्द्र कार्कीलाई भने महोत्तरीको बर्दिबासमा सरुवा गरेको थियो । सरुवा भएका कार्यकारीलाई तत्काल खटाएको स्थानीय तहमा काम गर्न जान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन दिए पनि कार्की भने अटेर गरेर बस्नुभएको हो ।

वरिष्ठताका आधारमा आफू चाँगुनारायण नगरपालिकामै हुनुपर्ने अडान राख्दै सरुवाप्रति असन्तुष्ट जनाएर कार्कीले मन्त्रालयमा पुनःमूल्याङ्कन गर्न आवेदन दिएपछि मन्त्रालयले चैत ९ गते सिराहको मिर्चैया नगरपालिकामा सरुवा गरेको थियो ।

सरुवा पत्र बोकेर चाँगुनारायण नगरपालिकामा हाजिर हुन आएका भुसाललाई कार्कीले हाजिर गर्न नदिएपछि साविक चाँगुनारायण नगरपालिकाकै पुरानो हाजिर कापीमा हाजिर गर्दै आएको छन् ।

भुसालले भन्नुभयो – “मैले रमानापत्र लिएर आए पनि हाजिर गर्न पाइनँ, पुरानै हाजिर कापीमा हाजिर गरेको छु, सरकारले खटाएको ठाउँमा जानुपर्ने कर्मचारीको दायित्व हो, तर यहाँ त्यसो हुन सकेन, दुईजना कार्यकारी अधिकृत हुँदा कर्मचारीदेखि सेवाग्राहीसमेत अन्योलमा परेका छन् ।”

सञ्चारकर्मी नगरपालिकामा पुग्दा दोस्रो तलामा कार्कीले कार्यालय चलाउनुभएको र तेस्रो तलामा भुसालले कार्यालय चलाएर काम गरेको पाइएको थियो । कार्यालयको ढोकामा दुवै कार्यकारी अधिकृतको नाम प्लेट टाँसिएको पाएपछि सेवाग्राही थप अन्योलमा परेका हुन् ।

नगरपालिकाका कर्मचारीका अनुसार पुरानो नगरकोट नगरपालिकाका कर्मचारीले सेवाग्राहीको काम कार्कीको टेबुलमा लैजाने र चाँगुनारायण नगरपालिकाका कर्मचारीले भुसालको टेबुलमा सेवाग्राहीको काम लैजाने गरेका छन् । यसो गर्दा एउटै नगरपालिकामा पनि दुई कार्यालय भएको जस्तो भएको र कर्मचारीसमेत विभक्त भएको एक कर्मचारीले बताए ।

दुई कार्यकारी हुँदा सेवाग्राहीदेखि कर्मचारीसमेत अन्योलमा परेको गुनासो गर्दै कर्मचारीहरुले भुसालले कार्कीले रमानापत्र बनाउन कर्मचारीलाई भन्ने तर कार्कीले रमानापत्र बनाउन नदिने हुँदा कर्मचारीमै विवाद आएको गुनासो गरेका छन् ।

कार्यालयमा सेवाग्राही आएका सेवाग्राहीलाई सिफारिसलगायतका काम गर्न कुन कार्यकारी अधिकृत कहाँ जाने भन्ने अन्योलमा पर्ने गरेका छन् । घरको तला थप्ने कामका लागि सिफारिस लिन आएका चाँगुनारायण नगरपालिका दुवोकाटका ज्ञानेन्द्र दाहालले दुई हाकिम हुँदा समयमा काम नहुने र अन्योल हुने भएकाले काममा समेत ढिलासुस्ती हुने गरेको बताउनुभयो ।

कार्यकारी अधिकृत कार्कीले भने आफूले वरिष्ठताका आधारमा यही नगरपालिकामा काम गर्न पाउनुपर्ने दाबी गर्दै यद्यपि सरकारले सुनुवाइ नगरे खटाएको ठाउँमा जान तयार रहेको बताउनुभयो ।