Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आयोगलाई थापाको प्रश्नः के तपाई एमाले र माओवादीको विचारलाई प्रतिवन्ध लगाउन सक्नुहुन्छ र ?

Saturday, March 18, 2017 National Power

५ चैत, काठमाडौं – राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगकै कारण स्थानीय चुनावको वातावरण धमिलिनसक्ने चेतावनी दिएका छन् । साथै उनले आयोगले आफ्नो निर्णय नसच्याए उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर सडकमा जाने बताएका छन् ।


संविधान विपरित भएको भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था हटाएपछि अध्यक्ष थापा आयोगमाथि खनिएका हुन् ।

राप्रपाको चुनाव चिन्ह ‘गाई’ सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्थानीयविकासमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले निर्वाचन आयोगको निर्णय संविधान विपरित भएको बताए ।

कुनै पनि पार्टीका लागि उसको विचार र सिद्धान्त प्रण भएको भन्दै उनले यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताए । यो विषय राप्रपाको मात्र नभएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरे ।

माओवादीले अहिले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेको, एमाले र माओवादीको मान्यता संसदीय व्यवस्था भन्दा फरक रहेको भन्दै भन्दै राप्रपा अध्यक्ष थापाले आयोगलाई प्रश्न गरे(के तपाई एमाले र माओवादीको विचारलाई प्रतिवन्ध लगाउन सक्नुहुन्छ र ?

चुनावमा जाादा दलहरुले बोक्ने एजेण्डा निर्वाचन आयोगले नभई दल स्वयंमले तय गर्ने उनले बताए ।

आफ्नो सम्बोधनको अधिकांश समय आयोगको निर्णयको आचोचनामा विताएका थापाले निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । आफ्नो सिद्धान्त र मान्यतका लागि जंगल गएर जनयुद्ध गर्ने देश यही हो भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, आज यति मात्र भन्छ, अन्यथा यसले चुनावको वातावरण धमिलिनसक्छ र सम्पूर्ण दोष आयोगको हुनेछ ।’

राप्रपाले अहिले नै आवेशमा कुनै निर्णय नगर्ने भन्दै उनले बैधानिक बाटोबाट अघि बढ्ने बताए । बैधानिक बाटो रोकिएमा अझ सशक्त आन्दोलन गर्ने र सडकबाटै आफ्ना मान्यता स्थापना गर्न लाग्ने बताए ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले अघि भने, हाम्रो आफ्नो सिद्धान्त भन्दा ठूलो सत्ता होइन, संघर्षमा जानुपर्दा सबैभन्दा पहिला उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर जनताको माझमा जान्छु ।