Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पोलियो खुवाइँदै

Saturday, March 4, 2017 National Power

२१ फागुन,काठमाडौँ-स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ ।

पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने कार्यमा सहयोग गर्न स्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयलाई आग्रह गरेको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियोलगायत नागरिकले पाउने सबै स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । मन्त्रालयअन्तर्गत कार्यरत केही स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाका विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् । उनीहरूको माग सम्बोधन गर्न मन्त्री थापाले विभिन्न निर्णय गराइसक्नुभएको छ ।

आगामी तीन महिनाभित्र संशोधित ऐनको मस्यौदा व्यवस्थापिका–संसद्मा पेस गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ । संसारबाट उन्मूलन हुन लागेको पोलियो थोपा पाँच वर्षमुनिका बालबालिकालाई खुवाउनका लागि मन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीले स्वतस्फुर्त रुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थ्यकर्मीबाट पोलियो थोपा खुवाउने कार्य रोक्ने कुरा कल्पना समेत गर्न नसकिने उहाँको भनाइ छ ।