Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निमा एकेडेमीद्वारा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता

Sunday, October 8, 2023 Devil Singh Rajput

काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । ‘कोडेभर ५‍‌.० रिजनल’ नाम दिइएको कार्यक्रमका लागि यही असोज १९ देखि नाम दर्ता खुला गरिएको छ । यस प्रकारको टेक इभेन्ट रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक भएको कम्पनीको भनाइ छ । यो च्याम्पियनसिप स्टेम्पपेडियालगायतद्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यसँग आवद्ध वार्षिक कार्यक्रम भएको कम्पनीको भनाइ छ ।

दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेम्पपेडियाको विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको हो । जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको बताइएको छ । यसका साथै निमा एकेडेमीले स्किलसअप ग्लोबलसँग तालिम साझेदारको रूपमा समेत सहकार्य गर्ने छ । कार्यक्रमको अवसरमा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले यो कार्यक्रम नेपालमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विद्यार्थीको उत्कृष्टता र पहिचानलाई अभिवृद्धि गर्ने एक ऐतिहासिक कोसेढुङ्गा हुने बताए उनले भने, ‘यो नेपालमै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने छ । यसले विद्यार्थीहरूलाई उनीहरूको एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । यस अनुभवले विद्यार्थीहरूमा क्षमता पहिचानका अतिरिक्त भविष्यका लागि उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत गर्ने छ ।’

यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । प्रधानका अनुसार अक्टोबर ६ (असोज १९) देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुल सहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने छन् । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहको लागि छनोट गरिने छ । शीर्ष १०० अन्तर्राष्ट्रिय सहभागीहरूलाई अमेरिकी डलर २५,००० बराबरको रकम वितरण गरिने छ । निमा एकेडेमी शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद्द्वारा सन् २०१८ मा स्थापित एक एडटेक कम्पनी हो ।

डिजिटलाइजेसनको माध्यमबाट नेपाली शिक्षा प्रणालीमा दशकौँदेखिको शैक्षिक विशेषज्ञतालाई आधुनिक प्रविधिसँग जोडेर नेपालमा परम्परागत सिकाइ विधिलाई स्तरोन्नति गर्ने यसको मुख्य उद्देश्य रहेको छ । आफ्नो स्थापना कालदेखि नै निमा एकेडेमीले २१ औँ शताब्दीका विद्यार्थीहरूको आवश्यकताअनुरूप भिडियो तथा विभिन्न ई–लर्निङ स्रोतहरू विकास गर्दै आएको छ ।