Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज, नेपालमा कोरोना निको हुनेको संख्या ७९ पुग्यो

Saturday, May 23, 2020 National Power

काठमाडौ – नारायणी अस्पतालमा उपचार गराइरहेका ७२ मध्ये ९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएपछि शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । डिस्चार्ज हुनेमा पर्साका ३, बाराका २, रौतहटका ३ र १ जना भारतीय नागरिक छन् ।

गत वैशाख १४ मा डिस्चार्ज भई पुन: कोभिड पोजिटिभ देखिएपछि वैशाख १९ र २० मा भर्ना गरिएका वीरगन्जको एक मस्जिदमा पोजिटिभ पुष्टि भएका भारतीय नागरिक र रौतहट इशनाथ नगरपालिकाका युवकसमेत शनिबार निको भएर डिस्चार्ज भएको मेसु डा.उपाध्यायले बताए । वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, ३ का ५० वर्षीय, १६ का ५१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी बारा जितपुर सिमरा उपमहानगर पालिका ७ का ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् । रौतहट वृन्दावन नगरपालिका ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका १ करुनीयाका २२ वर्षीय युवक निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा.उपाध्यायले जनाए ।

शनिबार डिस्चार्ज भएका ९ पुरुष वैशाख १४ यता नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । चिकित्सकका अनुसार उनीहरुमा कोभिड १९ को लक्षण देखिएको थिएन ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा ६३ जना संक्रमितको उपचार भइरहेको छ । यसैगरी नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा २५ जनाको उपचार भइहरहेको मेसु डा. उपाध्यायले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ ।

यसअघि नै पर्साका ३, रुपन्देहीका १, उदयपुरका २३, बाँकेका २, काठमाडौंका ९, कैलालीका ४, रौतहटका १, बागलुङका २, चितवनका २, झापाका २ तथा भोजपुर र कञ्चनपुरका १–१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु समेत भएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न दुई महिनायता देशमा लकडाउन भएपनि संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ।